बैशाख २५, २०८१, मंगलबार
               

विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको कदमको दलहरूद्धारा स्वागत

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरूले स्वागत गरेका छन् । वार्ताबाट राजनीतिक विषयको समाधान हुन थालेको र  शान्तिपूर्ण राजनीतिक गतिविधिको प्रक्रिया सुरु भएको भन्दै दलहरूले समर्थन गरेका हुन् ।

बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको थियो ।

सहमति लगतै राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । 

यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए । यादवले अहिले शान्तिपूर्ण राजनीतिमा आए पनि आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो महत्त्वपूर्ण हुने उल्लेख गरे ।

नेकपा प्रचण्ड–नेपाल पक्ष नेता पम्फा भुसालले पार्टीमा सहमतिबिना विप्लवलाई प्रतिबन्ध लगाइएको आरोप लगाउँदै अहिले प्रतिबन्ध फुकुवा गर्नु सामान्य कुरा भएको टिप्पणी गरिन् । उनले यसलाई सरकारको सफलतासँग जोड्न नहुने तर्क गरिन ।

उनले भनिन्, ‘पार्टीमा सहमति नगरी जसले आफूखुसी प्रतिबन्ध लगाएपछि अहिले आफैंले फुकुवा गरिएको छ। यो सफलता होइन, सामान्य कुरा हो । हामीले पहिलेदेखि नै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गर्दै आएका थियौँ । शान्तिपूर्ण रुपमा राजनीति गर्छु भन्नु राम्रो कुरा हो ।’

यस्तै नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताए । लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको उनले प्रतिक्रिया दिए । उनले विप्लव समूहले परिस्थितिको मूल्याङ्कन गरेर लोकतन्त्र प्रति प्रतिबद्धता जनाउनु सुखद कुरा रहेको र नेपाली काँग्रेसले त्यसलाई स्वागत गर्ने उल्लेख गरे ।

यसै गरी सरकार र विप्लव नेतृत्वको नेकपाबिच भएको ३ बुँदे सहमतिको नेकपा मालेले स्वागत गरेको छ । ‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच आज बिहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने सरकार र विप्लव समूहबीच सहमति भएको छ । दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको पुरा विवरण शुक्रवार सार्वजनिक हुने गरिने जनाइएको छ । शुक्रवार दिउँसो २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम समेत बनाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि