जेठ ०३, २०८१, बिहीबार
               

निलम्बित सांसद आलमलाई रिहा गराउने देउवाको आश्वासन

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताव आलमलाई रिहा गराउने बताएका छन् । 

रौतहटको गढीमाई नगरपालिकामा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्नका क्रममा पूर्वप्रधानमन्त्री देउवाले सो बताएका हुन् । तर, सोही क्रममा देउवाले आलाम अदालती प्रक्रियाबाट पनि रिहा हुने पनि बताए । 

रौतहटबाट निर्वाचित सांसद आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन् ।सभापति देउवाले देश अहिले जटिल अवस्थामा रहेको भन्दै नेपाली कांग्रेस पार्टीले मात्र मुलुकलाई निकास दिनसक्ने बताए । 

‘देशमा अहिले जताततै धार्मिक कार्यक्रम भइरहेको छ, सो क्रममा देउवाले भने । माहायज्ञ उद्घाटनका लागि पुगेका उनलाई एक सय २१ किलोको माला लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २०७६ कातिक २९ शुक्रबार जेल चलान भएका थिए ।

आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आलमलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए। मुद्दामा वादीका तर्फबाट १२ जना र प्रतिवादीका तर्फबाट २८ जना कानुन व्यवसायीले बहस गरेका थिए।

१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ।


कस्तो लाग्यो ?

यो पनि