सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । ओलीले विप्लवलाई सरकारले शान्ति प्रक्रियामा ल्याएको सारा नेपालीले टेलिभिजनबाट देख्नेसमेत बताएका थिए । उनले भनेका थिए, ‘तपाईंहरूले घर बसीबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’
उसो त फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवलेसमेत वार्तामा बस्न आफूहरू तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । सो अघि केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गर्दै विज्ञप्ति जारी गर्ने गरेका विप्लवले ‘सफ्ट भाषामा’ वार्ताका लागि तयार रहेको बताएका हुन् ।
आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको समेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो । सरकारले वार्ता टोली बनाएसँगै विप्लव समूहबाट पनि छिट्टै वार्ता टोलीको घोषणा गर्ने बुझिएको छ ।