बैशाख २७, २०८१, बिहीबार
               

ओलीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तयारीमा प्रचण्ड–नेपाल पक्ष
नयाँ समीकरण अनुसार अर्काे प्रस्ताव दर्ता गर्ने तयारी

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

नेकपाको प्रचण्ड–नेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारीमा जुटेको छ । दाहाल-नेपाल समूह भने सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको सो समूहका नेताहरुले बताएका छन् । 

प्रतिनिधिसभा विघटन भएकैदिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेस गरिएको थियो । भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड–नेपाल समूह अघि बढ्ने भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक शक्तिहरूसँग सल्लाह र छलफल भइरहेको प्रचण्ड-नेपाल समूहका नेता भीम रावलको दाबी छ । ‘ओलीको निरंकुशताविरुद्ध आन्दोलनमा आएका शक्तिहरूसँग मिलेर नयाँ सरकार बनाउने छलफल गरिरहेका छौँ,’ रावलले भने ।

सचिवालयमा दर्ता भएको उक्त अविश्वासको प्रस्ताव फिर्ता लिएर भावी प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेबाहदुर देउवालाई अघि सार्ने प्रचण्ड–नेपाल समूहको रणनीति छ । यसका लागि कांग्रेससँग छलफल भइरहेको दाबी गरिएता पनि ठोस सहमति भइसकेको छैन । पुस ५ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डको नाम उल्लेख गरिएको छ । 

गत फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै सर्वोच्च अदालतले विघटनपछिको अवधिलाई शून्य समय मानेको थियो । विघटनपछि दर्ता भएको अविश्वासको प्रस्तावको कानुनी वैधतामा प्रश्न उठ्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा यही फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन डाकेकी छन् । पहिलो दिनमै अविश्वासको प्रस्ताव दर्ता नगरिए प्रधानमन्त्री ओलीले तत्काल अधिवेशन अन्त्य गरिदिन सक्ने संशय यो समूहलाई छ ।


कस्तो लाग्यो ?

यो पनि