बैशाख २०, २०८१, बिहीबार
               

दाहाल–नेपाल समूह कुर्सीमा टाँसिएर बस्न चाहेका छन् : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना पनि साकार हुने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने दावी गरे । उनले भने, ‘ढुक्क हुनुस् आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, तपाईहरु निर्वाचनको लागि तयारीमा जुट्नुहोस् ।’

उपप्रधानमन्त्री पोखरेलले अहिले आफूहरुलाई गलत भनिरहेको भएपनि निर्वाचनबाट नै जनताले सहीगलतको पहिचान गर्ने बताए । उनले भने, ‘जनताभन्दा ठूलो न्यायाधीश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन्, यदि सही छौँ भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ, त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ ।’

उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही गलत तत्वले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको जानकारी दिए ।

उनले भने, ‘पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताले दिएका बहुमतको सरकारलाई धक्का मारेर म्यूजिकल चेयर रेस खेले झै बस्न खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस् भन्ने उद्देश्यले संसद् विघटन गरी जनताका बीचमा जाने निर्णय गरिएको हो ।’

उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्ता मै लागेको आरोप लगाउँदै भने, ‘हामी युवा पुस्तालाई नेतृत्व दिन खोजिरहेका छौँ, तर उहाँहरु कुर्सीमा टाँसिएर बस्न चाहनुहुन्छ, पार्टीभित्रको मतभेद त्यही हो ।’ 

एक अर्को प्रसङ्गमा उनले जनकपुर–जयनगर रेल्वे चाडै नै सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । उनले ठ्याक्कै यही मितिदेखि रेल सञ्चालन हुनसक्ने भन्न नसकिने भए पनि चाँडै सञ्चालनमा आउने बताए ।

चेम्बर्स अफ कमर्स धनुषाका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, चेम्बर्सका केन्द्रीय अध्यक्ष राजेश काजी श्रेष्ठलगायतले बोलेका थिए । 


कस्तो लाग्यो ?

यो पनि