दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज बहस सकिँदैछ । आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिनेछ । कस्तो फैसला आउला भनेर सर्वत्र चासो र प्रतिक्षारत रहेको यो मुद्धा अदालतमा लामो समयदेखि बहसमा छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो ।
बहस सुरू भएको एक महिना पछि एमीकस क्युरीमध्येका चारजनाले बिहीबारसम्म बहस सकेका छन् । आज वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सुझावस्वरूप बहस गर्नेछिन् ।
यसअघि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरिसकेका छन् । गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आइरहेको छ । सुनुवाइमा रिट निवेदक, सरकारी तर्फबाट, एमीकस क्युरीले सुझावस्वरूप बहस गरेका छन् ।
कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो ।