राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गरेका छन् ।
राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए ।
करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उनले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गरे -‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु ।’
उनले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय–समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको बताए-‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु ।’
भेटका अवसरमा राजदूत मासामिची साइगो नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए । उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताए ।