विराटनगर । ओली समूह (नेकपा) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन दाहाल-नेपाल समूहसँग आग्रह गरेको छ ।
सो समूहले यसअघि दाहाल-नेपाल समूहले माघ १२मा मुख्यमन्त्री राईविरुद्ध पेस गरेको अविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह गरेको हो । तर, प्रचण्ड–माधव समूह भने प्रदेशसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै सो प्रस्ताव फिर्ता नलिने मनसायमा छ ।
यसअघि ७ माघमा प्रदेशसभा अधिवेशन सुरु भए पनि प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्दा बहुमत नपुग्ने भएपछि सत्तारुढ पक्षले प्रदेशसभा अवरुद्ध गरेको थियो । पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई धारमा विभाजन भएको छ ।
जसको प्रत्यक्ष असर प्रदेश र स्थानीय सरकारमा पनि प्रत्यक्ष परेको छ । सोही अनुरुप प्रदेश १ र प्रदेश ३ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बुधबार मात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचिवालय केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । यद्यपि उनले यसलाई प्रतिनिधिसभा विघटनको प्रभावका रूपमा अर्थ्याउन भने चाहेनन् ।