मंसिर ०७, २०८१, शुक्रबार
               

एकअर्काबीच आरोपप्रत्यारोप नगर्न कांग्रेस विद्यार्थीको नेतृत्वलाई सुझाव

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाली कांग्रेससम्बद्ध युवा–विद्यार्थीहरुले कांग्रेस पार्टीलाई सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न सुझाव दिएका छन् । 

काग्रेस सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् पुनर्स्थापनाको पक्षमा देखिरहेका बेला नेपाली कांग्रेससम्बद्ध युवा विद्यार्थीहरुले विज्ञप्तिमार्फत् नेतृत्वलाई सो सुझाव दिएका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक एवं प्रतिगमनउन्मुख कदमविरुद्ध कांग्रेस सडक आन्दोलनमा छ। पार्टीको केन्द्रीय समितिको सर्वसम्मत निर्णयअनुसार विभिन्न चरणको आन्दोलन गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिन्छ। तसर्थ अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन गर्न आवश्यक छैन।’ 

कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले आयोजना गरेका विरोधसभामा केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कालाई अरोपप्रत्यारोप गरेको बताउँदै उनीहरुले सो विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन् । 

‘कम्युनिष्टहरुले देश चलाउन नसकेर संसद विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउनेगरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्यक देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ,  ‘व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउन सबै नेतालाई एउटै मालामा बास्नु अहिलेको आवश्यकता हो ।’

सामूहिक विज्ञप्ति जारी गरी नेतृत्वलाई सो सुझाव दिनेहरुमा विश्वदिप लामिछाने, शिव चालिसे, एलिजा ढकाल, ज्योति बोगटी थापा, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, हेमन्त बन, बुद्धराज रिसाल, तारा गौतम, राजन कटुवाल (केसी), देवेन्द्र बर्मा, राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइँटेल, शिव श्रेष्ठ, गोबिन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेश अधिकारी, अंशु शर्मा, सरोज बस्नेत, बिपी कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारी छन् । 


कस्तो लाग्यो ?

यो पनि