जेठ ०७, २०८१, सोमबार
               

ओलीप्रति प्रचण्डको शंका: ‘राममन्दिर राजनीति आफूलाई सिद्धाउने योजना’

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

विभाजित नेकपाका दुई ‘पूर्वपाइलट’को अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चाको विषयबस्तु बन्दै आएको छ । ओली नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा व्यक्तिगत रुपमा एकअर्काको आलोचना गर्दै आएका छन् । पछिल्लो समय दुवैका अभिव्यक्ति एकअर्काप्रति सशंकित तथा संशयपूर्ण देखिन्छ ।

ओलीले प्रतिनिधि सभा भंग गरेपछि त्यसको वैधानिकताको परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । प्रधानमन्त्री ओली भने मुद्दा संवैधानिक नभएर ‘राजनीतिक’ भएकाले खारेज हुने फैसला सडकबाटै सुनाइरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर प्रचण्ड–नेपाल नेकपा आन्दोलनमा छ । प्रचण्ड–नेपाल नेकपाका अध्यक्ष प्रचण्डले ओलीको निर्णय बदर हुनैपर्ने र त्यसो नभए ठीक नहुने भन्दै अदालतलाई चेतावनी दिइरहेका छन् । उनलाई आन्दोलन शान्तिपूर्ण ‘भेजिटरिएन’ भएकामा पटक्कै चित्त बुझेको छैन । यसैले उनले युवा विद्यार्थीलाई ‘आक्रामक’ र ‘आवेगमय’ आन्दोलनका निम्ति उक्साउने अभिव्यक्ति दिइरहेका छन् । ओलीले अदालतमा मात्र नभई निर्वाचन आयोगमा समेत सेटिङ मिलाएको हुनसक्ने प्रचण्डको आशंका छ । यसैले ओलीको पक्षमा फैसला नगर्न भन्दै अदालत र आयोग दुवैलाई प्रचण्डले सडकबाटै धम्काइरहेका छन् ।

एकातर्फ प्रधानमन्त्री केपी ओली सरकारले चुनाव गराउने बताउँदै आएका छन् भने अर्कातर्फ प्रचण्ड नेकपा ओलीको मनसाय चुनाव नभएको आरोप लगाउँदै आएको छ । पार्टीको नाम र चुनावचिन्ह आफ्नो हुनुपर्ने भन्दै दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका छन्। जनमानसमा भिजेको चिन्ह सूर्य भएकाले दुवै पक्षले सूर्यचिन्ह पाउन तीव्र कसरतमा छन् । ‘ताजा जनादेश’ लिन निर्वाचनमा जानुको विकल्प छैन भन्दै ओलीले आफ्नो पक्षमा आमजनता रहेको बताउँदै शक्ति प्रदर्शन गरिरहेका छन् । 

आगामी २०७८ सालको वैशाख १७ र २७ गते मतदान हुनेगरी चुनावको मिति पनि तोकिएको छ । यद्यपि प्रचण्ड हरेक भाषणमा केपी ओलीले चुनाव गराउनका लागि चुनावको मिति नतोकेको आरोप लगाउँदै संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिँदै आएका छन् । 

ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन संसद् विघटन गरेको बताउँदै आएका प्रचण्ड अहिले आफूलाई चुनावमा समेत हराउने आशंका गर्न थालेका छन्  । यस्तो आशंका प्रचण्डले आफ्नै क्षेत्रमा गएर व्यक्त गरेका हुन् । 

ओलीले माडीमा राममन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याएको बताउँदै मंगलबार प्रचण्डले भने, ‘राममन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउने अभियान चलाउन मात्र ल्याइए हो ।’

चितवनको भरतपुरमा निर्माणाधीन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो आशंका व्यक्त गरेका हुन् । 

‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरुमध्ये मजति खुसी को हुन्छ,’ भन्दै ओली माथि प्रतिप्रश्न तेर्स्याउँदै प्रचण्डले भने, ‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसका लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ?’

राममन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउने अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले भने, ‘त्यस्तो हो भने ओली आफैँ खाल्डोमा पर्छन् ।’

प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि धेरैले आशंका गरेका छन् ‘यदि चुनाव भयो नै भने पनि आफूलाई हराउन ओली पक्ष ज्यान फालेर लाग्नेछन्’ भन्ने प्रचण्डलाई शंका रहेछ  । ओलीले अदालतमा सेटिङ मिलाएको, निर्वाचन आयोगलाई प्रभावमा पारेको र चुनावै भए पनि चितवनबाट आफूलाई हराउने षड्यन्त्र गरिरहेको’ प्रचण्डलाई शंका रहेको देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि