काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंद्वारा सोमबार बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए ।
संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उनले उल्लेख गरे । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिए ।
आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उनको भनाइ थियो ।
कांग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उनले स्पष्ट पारे । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु कांग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो ।
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको बताइन् ।
कांग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राखेका थिए ।