जेठ ०७, २०८१, सोमबार
               

ओली सरकारको तीन वर्ष : यस्ता छन्, महत्वपूर्ण उपलब्धिहरू
संसद विघटनको आलोचनाले राम्रा काम र उपलब्धि छायाँमा

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन गरेको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री ओेली नेतृत्वको सरकारले सोमबार तेस्रो वर्ष पुरा गर्दैछ । 

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी गठनबन्धले बहुमत प्राप्त गरेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले संसदीय दलका नेता ओलीको नेतृत्वमा फागुन ३ गते नयाँ सरकार गठन भएको थियो । ओलीले प्रधानमन्त्री चयन भएको भोलि सोमबार तीन वर्ष पूरा हुँदैछ ।

सोही महिनाको फागुन २७ गते ओलीले संसद‍्मा विश्वासको मत लिएर झण्डै दुईतिहाइको समर्थन प्राप्त गरेका थिए । केही महत्वाकांक्षी नारासहित साझा चुनावी घोषणापत्र लिएर जनतामा गएको वामपन्थी गठबन्धनको नारालाई जनताले पत्याइदिएपछि सिंहदरबारमा ओलीको दोस्रो यात्रा सहज बनेको थियो ।

चुनावअघि गरेको वाचाअनुसार वामपन्थी गठबन्धनका दुई घटक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी एकीकरण सम्पन्न गरे । आफ्नो कार्यकालको ३ वर्ष पूरा गरेका ओली २०४६ सालको राजनीतिक परिवर्तनपछि लामो समय सरकार चलाउने दोस्रो प्रधानमन्त्री बनेका छन् ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकार ३ वर्ष ६ महिना २ दिन चलेको थियो । त्यसपछिका कुनै पनि सरकारले सोही जतिको समय  कार्यकाल पूरा गर्न पाएका छैनन । औसत ९ महिनामा सरकार फेरबदलको चक्र चलिरहेको समयमा कुनै पनि सरकारले तीन वर्ष पूरा गर्नु आफैँमा उपलब्धि मानिएको छ । यद्यपी अहिले ओलीलाई प्रधानमन्त्री बनाएको संसदनै विघटन भइसकेको छ ।

बैसाख १७ र २७ को मिति राखेर नयाँ निर्वाचन घोषणा गरिएको  छ । संसद विघटन असंबैधानिक भन्दै दर्ता मुद्दा अदालतमा बिचाराधीन छ । यस्तो अवस्थामा २०४८ को कोइरालाको नेतृत्वको तीन वर्षे ६ महिने कार्यकालको रेकर्ड यो सरकारले तोड्न सक्छ भन्नेमा आशंका छ । तत्कालिन समयमा पनि सत्तारुढ दलभित्रैको विवादका कारण कोईरालाले प्रतिनिधीसभा विघटन गरेका थिए ।

संविधान सभाबाट जारी भएको नयाँ संविधानअनुसार सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको संसद्बाट विश्वासको मत लिएको सरकार गठन भएपछि नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएको विश्वास गरिएको थियो ।

राजनीतिक क्रान्ति सकिएको र देश आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको दाबी गर्दै तत्कालिन नेकपा एमाले र माओबादी पार्टी गठबन्धन गर्दै चुनावमा गएका थिए । तर चुनावमा दुइ तिहाई जनमता पनि पाए । तर सरकार बनेको तीन वर्ष नहुँदै पार्टीभित्रको विवादका कारण संसद विघटन गरिएको छ ।

सरकारको कामलाई लिएर जनतामा र स्वयं नेकपामा समेत असन्तुष्टि छ । नेकपामा ओलीइतर पक्ष सरकार विरद्ध आन्दोलनमा छ। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष प्रतिपक्षी झै सडक सघंर्षमा छ। 

प्रतिनिधिसभा विघटनसँगै ओली सरकारले तीन वर्षमा गरेका राम्रा काम र उपलब्धि छायाँमा परेजस्तो देखिएको छ । किनकि प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्री ओली घोर आलोचनाको पात्र बनेका छन् । यसकारण यस अवधिसम्म तीन वर्षमा केही राम्रा काम भए पनि संसद विघटनकै कारण विपक्षीहरूले सरकारले कामै नगरेको जस्ता प्रचार गरिरहेका छन् । तर यस तीन वर्षको अवधिमा सरकारले केही महत्वपूर्ण काम भने गरेको देखिन्छ । 

नक्सा प्रकाशित

ओली सरकारले तीन वर्षमा गरेको आम नागरिकले गर्व गर्न लायक काम अतिक्रमित भूमि समेटेर नेपालको नक्सा प्रकाशित गर्नु हो । नेपाली भूमि अतिक्रमण गरेर भारतले नक्सा प्रकाशित गरेपछि सरकारले कूटनीतिक नोट पठायो । नेपाल सरकारको विमति रहँदारहँदै नेपाली भूमिबाट भारतले तिब्बत मानसरोबर जाने बाटो बनायो । सरकारले २०७७ जेठ ५ गते नेपाली भूमि समेटेर नक्सा प्रकाशित गर्‍यो । नयाँ नक्सा समेटिएको निशान छाप संविधानमा समेत समावेश भइसकेको छ । झण्डै ६ दशकदेखि भारतले नेपालको भूमि अतिक्रमण गरेको थियो तर यस्तो अडान यसअघिका सरकारले लिन सकेका थिएनन् ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

चिनियाँ राष्ट्रपति सी चिनफिङबाट २५–२६ असोज २०७६ मा भएको नेपाल भ्रमण भयो । यो ओली सरकारको अभूतपूर्व उपलब्धि हो । दुई दशकभन्दा लामो समयदेखि उत्तरी छिमेकी चीनका तर्फबाट राष्ट्र प्रमुखकै तहमा नेपाल भ्रमण हुन सकेको थिएन । ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य देशका विशिष्ट पाहुनाले नेपाल भ्रमण गरे । यसले नेपालको कूटनीतिक दायरा फराकिलो भएको छ ।

सबै स्थानीय तहमा अस्पताल शिलान्यास

ओली सरकारको अर्को प्रशंसनीय कार्य सबै स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल शिलान्यास पनि हो । ओली सरकारले मंसिर १५ गते एकैपटक देशैभर अस्पताल भवन शिलान्यास गरेको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चहरूमा एकैपटक यति ठूलो संख्यामा अस्पतालको शिलान्यास हुनु विश्वमै दुर्लभ भएको बताएका छन् । 

पेट्रोलियम पाइपलाइन उद्घाटन

ओलीको कार्यकालमा भएको अर्को महत्त्वपूर्ण काम नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन पनि हो । सुशील कोइराला सरकारको पालमा सुरु भए पनि ओली सरकारको पालामा यो आयोजना पूरा भएको छ । दुवै देशका प्रधानमन्त्रीले यो पाइपलाइनको उद्घाटन गरे ।

पुनःनिर्माणमा फड्को

जनताले देख्ने गरी ओली सरकारबाट भएको अर्को काम भनेको भूकम्पपछिको पुनःनिर्माण पनि हो । २०७२ सालमा गएको विनासकारी महाभूकम्पको पुनःनिर्माण २०७३ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयदेखि सुरू भएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रम

ओली सरकारले सुरू गरेको अर्को महत्त्वपूर्ण काम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पनि हो । कतिपय प्रावधानका कारण निजी क्षेत्रले संशय मानिरहेको सामाजिक सुरक्षा कार्यक्रम नेपालमा कम्युनिस्ट सरकारले ल्याएको अर्काे महत्त्वपूर्ण कार्यक्रम हो । यद्यपी यो कार्यक्रम सबै क्षेत्रमा लागु भइसकेको छैन । 

पृथकतावादी राजनीतिलाई निस्तेज

ओलीको नेतृत्वमा सरकार गठन भएपछिको महत्त्वपूर्ण राजनीतिक उपलब्धिको रूपमा स्वतन्त्र मधेशको नाममा तराईमा पृथकतावादी राजनीति गरिरहेको सीके राउतको स्वतन्त्र मधेशी गठबन्धनलाई राजनीतिको मूलधारमा ल्याउनु पनि हो । शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका सीके राउतको जनमत पार्टीले उपनिर्वाचनमा भाग समेत लियो । यस्तै प्रतिबन्धनधित नेत्रविक्रमचन्द नेतृत्वको समूहसँग पनि सरकारले वार्ता थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि