बैशाख २३, २०८१, आइतबार
               

आफ्नै दलको प्रधानमन्त्री हटाउन खोज्दा संसद विघटन : रायमाझी

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसंगन इन्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री रायमाझीले पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्य गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेको बताए । 

उनले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पुर्‍याएको बताए।

‘मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु, तर मान्नुभएन,’ उनले भने, ‘कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न।’

दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह गरे।

‘उल्टो दिशामा हिँडनेहरुसँग कोही जानेवाला छैनन्, बरु सो समूहका धेरै नेताहरु मूल पार्टीमा आउँदैछन्।’ पछिल्लो समय नेपाली कांग्रेससहित दल चुनावको तयारीमा लागेको, तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गरे ।

भेलामा प्रेस संगठनका इञ्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा संगठन क्रियाशील रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरे।

सो संगठनका केन्द्रीय संयोजक गणेश बस्नेतले अराजकताविरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै संविधानसभाले निर्माण गरेको संविधानविरुद्ध लाग्नेलाई प्रेस संगठनले समर्थन गर्न नसक्ने स्पष्ट पारे ।


कस्तो लाग्यो ?

यो पनि