जेठ ०५, २०८१, शनिबार
               

भागिरथी भट्ट हत्याको अनुसन्धान तीव्र बनाइयोस्: कांग्रेस

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागिरथी भट्ट हत्या घटनाको अनुसन्धानलाई तीव्र बनाइ दोषी पक्राउ गर्न माग गरेको छ ।

घटना भएको दोस्रो सातासम्म भट्टको बलात्कार र हत्यामा संलग्न दोषी पक्रन नसकेको बताउँदै कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत् सो माग गरेको हो । 

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भट्टको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नु दुःखद भएको उल्लेख छ । कांग्रेसद्वारा जारी विज्ञप्तिमार्फत् अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गरी बैतडी घटनासँगै देशभरका यसखाले  सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।

शान्ति स्थापना र संविधान निर्माणपश्चात देशमा अमनचयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास बितेका वर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको पनि सो विज्ञप्तिमा उल्लेख छ । ‘अनेक प्रकृतिका हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको भन्दै अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई कमजोर बनाएको  विज्ञप्तिमार्फत् बताइएको छ । 

‘निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागिरथी र अरु धेरै छोरीको अपराधमा संलग्न कानुनको कठघराभन्दा बाहिरै छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढ्दै जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष कांग्रेस माग गर्छ । साथै, कांग्रेसले विज्ञप्तिमार्फत् यस्ता घटनाविरुद्ध सिंगो समाजलाई सजग रहन पनि अपिल गरेको छ ।

यो पनि