जेठ ०६, २०८१, आइतबार
               

नेकपा दाहाल-नेपाल समूहलाई तत्काल समर्थन नगर्ने देउवाको संकेत

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै देउवाले सो बताएका हुन् । 

बुधबारमात्रै नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई संयुक्त आन्दोलनमा आउन आग्रह गरेको भोलिपल्ट नै देउवाले मध्यमार्गी धारणा सार्वजनिक गरेका हुन् ।  

‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत,’ सभापति देउवा संबोधनका क्रममा भने, ‘कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो ।  अब संसद् पुनर्स्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्छ ।’

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’

फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासी-जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताए ।

सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लो स्तरमा पुगी सो बारेमा प्रचार गर्न र कांग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटनभएसँगै नेकपा दाहाल-नेपाल समूह आन्दोलनरत छ । बुधबारको जनप्रदर्शनमा नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता, संविधान निर्मा‌णमा कांग्रेसको भूमिका देखाउँदै कांग्रेस फकाउने प्रयास गरेका थिए । यसका अलवा दाहालले माधव नेपाल र आफू देउवा निवास गएर भावि प्रधानमन्त्रीको प्रस्ताव नै गरेको खुलाउँदै आएका छन् । 

प्रचण्डले फकाउने प्रयास गरिरहँदा देउवाबाट बिहीबार सो अभिव्यक्ति आउनले देउवा अदालतको फैसला पर्खिरहेको देखाउँछ । यसको अलावा देउवाको अभिव्यक्तिले कांग्रेसलले तत्काल नेकपा दाहाल-नेपाल समूहलाई साथ नदिने पनि संकेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि