जेठ ०६, २०८१, आइतबार
               

आयोग पुगेर ओलीले भने: मेरै नेतृत्वको नेकपा आधिकारिक हो

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । चुनावी तयारीबारे बुझ्न गएको भनिए पनि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको खुलेको हो । 

प्रधानमन्त्री ओली महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री लिला श्रेष्ठ, बाबुराम दाहाल, रमेश बडालसहितको दलबल लिएर मंगलबार निर्वाचन आयोग पुगेका थिए । 

तर, प्रधानमन्त्रीको सचिवालयले भने चुनावको तयारी बुझ्न गएको दाबी गरेको छ । प्रचारमा चुनावी तयारीको सिलसिला भनिए पनि ओलीले पार्टीको चुनावचिह्न, नाम आफैँले पाउनुपर्ने दाबी गरेको आयोग स्रोतले जनाएको छ ।

‘उहाँले (प्रधानमन्त्री) लामो पृष्ठभूमि बाँध्दै पार्टी एकतापूर्वको सहमति निर्वाचन आयोगलाई स्मरण गराउनुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक आयुक्तले भने, ‘पार्टी एकतापूर्व म एमाले, सूर्य चुनाव चिह्नधारी पार्टीको निर्वाचित अध्यक्ष थिएँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको मान्छेले कसरी सूर्य चिन्ह दाबी गर्न मिल्छ ? प्रचण्ड समूहलाई आधिकारिकता दिन मिल्दैन ।’

सो क्रममा प्रचण्डले चुनाव चिह्न दाबी गर्नुको कुनै अर्थ नरहेको समेत ओलीले बताएका थिए । उनमा कानुनी रुपले मात्र नभई नैतिक हिसाबले पनि अयोग्य रहेको ओलीका दाबी थियो । 

ओलीको भनाइ उद्धृत गर्दै एक आयुक्तले भने, ‘उहाँ माओवादी केन्द्रको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । उहाँको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा थियो । चुनावी एकता हुँदा सूर्य चुनाव चिह्नबाट लड्ने समझदारी भएको थियो । लिखित । तर, उहाँ पछि हट्नुभयो । त्यसकारण दश लाख भोट बदर भयो । उहाँ कहिल्यै सूर्य चिह्नबाट चुनाव लड्नुभएको छैन । अहिले चुनाव चिह्न दाबी गर्नुको कुनै अर्थ छैन । नैतिक, कानुनी हिसाबले पनि मिल्ने कुरा होइन त्यो ।’

पार्टी एकता भएको भए पनि एकताको प्रक्रिया नटुंगिदै अहिलेको दुःखद स्थिति देखा परेकोसमेत उनले बताएका थिए । आफ्ना कुरा राखिसकेपछि अन्तमा प्रधानमन्त्रीले आयोगलाई विवेकसम्मत निर्णय गर्न अनुरोधसमेत गरे । आफूले निर्वाचन आयोगको काममा कुनै हस्तक्षेप नगर्ने पनि बताएका थिए । निर्वाचन आयोगले चुनावको तयारीबारे ब्रिफिङ गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै बहुमत केन्द्रीय सदस्यको बैठकले ओलीलाई पार्टीबाट निष्कासन गरेको छ । 

ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाल प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको अध्यक्ष बनेका छन् । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा दुई सय ७७ जना प्रचण्ड–नेपाल समूहमा छन् । आयोगले कुनै पनि नेकपालाई आधिकारिकता नदिए पनि चार सय ४१ जनाको केन्द्रीय कमिटीलाई भने आधिकारिकता दिएको छ । जसमध्ये चार जनाको मृत्यु भएको छ  भने आठजनाले राजीनामा दिएका छन् । माघ २० गते प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्रसमेत लेखेको छ ।


कस्तो लाग्यो ?

यो पनि