काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।
केही वर्षअघि सरकारले काठमाडौंको महाबौद्धको वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको, तर काम भइनरहेको अवस्थामा मन्त्री पौडेलले अस्पताल निर्माणस्थलको अवलोकन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । तत्कालीन सरकारले सो क्षेत्रमा एक हजार पाच सय शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।
मंगलबार मन्त्री पौैडेलसहित स्वास्थ्यमन्त्री पनि सो क्षेत्रको अवलकोनमा सहभागी थिए । अवलोकनका क्रममा मन्त्री पौडेलले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले काम गर्ने बताए ।
आगामी ६ महिनाभित्र बिजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराउने बताउँदै उनले भने, ‘सडक डिभिजन, विद्युत् प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिव तथा सम्बन्धित न्याम्स तथा वीरका पधाधिकारीलाई साथै स्थानीय निकायका प्रमुखलाई ६ महिनाभित्र प्रगति प्रतिवेदन पेश गर्न आग्रह गर्छु ।’
तत्कालीन सरकारले कुल ५० अर्बको लगानीमा सो क्षेत्रको ५७० रोपनी जग्गामा अस्पताल बनाउने घोषणा गरेको थियो । तर, चिनियाँ प्राविधिकले अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निष्कर्ष निकालेको थियो ।