जेठ ०६, २०८१, आइतबार
               

नारायणहिटी अगाडिको सभा : गरियो रहस्यको खेती तर, लागेन फसल

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार विशाल जनसभाको आयोजना गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वत्ता थिए । जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरियो । 

‘रचनात्मक शक्ति प्रदर्शन’ नाम दिइएको सो कार्यक्रमको पूर्वसन्ध्यामा बिहीबार साँझ दरबारमार्गस्थित सडकका डिभाइडर एवं फलामका रेलिङहरू भत्काइए । सडक धोइपखाली सफा र धुलोमुक्त बनाइयो ।

विशाल जनसभाको तयारी भइरहँदा आम जनमानसमा एक किसिमको चासो थियो ‘ओलीले के नयाँ कुरा खु्लासा गर्लान् ?’ आम मानिसले यो चासो प्रकट नगरुन पनि कसरी ? किनकी प्रचण्ड र माधवकुमार नेपालको शक्ति प्रदर्शनमा दुई/चार हजार मानिस मात्रै भएको भन्ने खिल्ली उठाउँदै ओलीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममार्फत घोषणा गरेका थिए ‘आमसभा तथा जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते हेर्नुहोला ।’

यस्तै नेकपा बागमती कमिटीका संयोजक तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ‘देशमा राजा रहने परम्परालाई पुनः स्वीकार गर्न सकिने संकेत गरेका थिए । नारायणहिटी अगाडिबाट नयाँ खुलासा हुँदैछ भन्दै उनले देशमै तरंग सिर्जना गर्ने गरी नयाँ कुरा भन्न लागेको दाबी गरेका थिए ।

यसले पनि धेरैलाई लागेको थियो, नारायणहिटी प्रांगणबाट नयाँ केही खुलासा हुँदैछ । ओलीइतरपक्षका नेकपा अध्यक्ष प्रचण्डले समेत बिहीबार एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा ओलीले आश्चर्यजनक घोषणा गर्नसक्ने अनुमान गरेका थिए । 

ओलीमाथि विपक्षीले गम्भीर राजनीतिक आरोप लगाएका थिए ‘ओली संघीयता, समावेशिता र धर्म निरपेक्षताप्रति हृदयदेखि नै प्रतिवद्ध छैनन् । उनी यो संविधानले स्थापित गरेका राजनीतिक मूल्यहरूको भत्काउन चाहन्छन् ।'

नारायणहिटी दरबारको गेटमै आमसभा गर्ने भनिएपछि पुन: राजसंस्था फर्काउने वा हिन्दुराष्ट्र कायम गर्नेमध्ये कुनै एक घोषणा हुन्छ की भन्ने धेरैलाई थियो । प्रधानमन्त्री ओलीले प्रतिद्वन्द्वीहरू खासगरी प्रचण्ड र माधव नेपाललाई गाली गलौजमात्र गर्ने छन् या कुनै राजनीतिक महत्व राख्ने सम्वोधन पनि गर्नेछन् ? उनले आलोचकहरूमाथि घृणात्मक अभिव्यक्ति मात्र दिन्छन् या आफूमाथि उठेका गम्भीर प्रश्नहरूको पनि जवाफ दिन्छन् ? यी चासो धेरैतिर देखिएको थियो ।

त्यही बेला प्रचण्ड माधव पक्षका अर्का नेता सुरेन्द्र पाण्डेको फरक दाबी सार्वजनिक भयो  ‘माघ २३ गते ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दैछन् । केही दिनअघि पशुपतिनाथमा पूजा गरेका ओलीले हिन्दु राष्ट्रको घोषणातिर त लागेका होइनन् ? भन्ने प्रश्नले मलजल पाएको थियो । कतिपयले चाहिँ शुक्रबार केपी ओलीले विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवाको घोषणा गर्न सक्ने अनुमान पनि गरेका थिए । तर शुक्रबारको विशाल जनप्रदर्शनमा प्रधानमन्त्रीबारे आम नागरिकमा उब्जेका ती प्रश्नहरूको जवाफ सोचेजस्तो गरी आएन । उनले गणतन्त्र र संघीयताको पुनरावलोकण गर्ने आरोपका विषय बाहेक धेरै कुरा रहस्यकै गर्भमा राखे । बजारमा आशंका छरपस्ट बनेको र बनाइएका धर्म निरपेक्षता पुनरावलोकणका विषयमा ओली मौन रहे । जसकारण नयाँ खुलासाको प्रचारका कारण शुक्रबारको भाषण सुन्न गएका धेरै सर्वसाधारण तथा कार्यकर्ताले ओलीको भाषण पहिलेको तुलनामा खल्लो महशुस गरे । किनकि उनीहरूले देशमै तरंग सिर्जना गर्ने गरी नयाँ खुलासा सुन्ने मनस्थिति बनाएका थिए । 

बजारमा भएका यस्ता चर्चाका विषयमा उनले भाषणामा नखुलाएका पनि होइनन् । उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको पनि बताए । उनले भने ‘आज बिहानसम्म लौनचौरमा हल्ला सुनेथेँ, केपी ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ अरे । हामीले आधा शताब्दी लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यसले बाधा दिएको छैन । गणतन्त्रका लागि आधादशक लडेँ, अझै पनि ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ? यसलाई हामी थप मजबुत गर्दै जानेछौँ ।’ 
बिपक्षीको आरोपको खण्डन गर्दै ओलीले आफू संघीयता र गणतन्त्रको पक्षमै रहेको त बताए तर, धर्म निरपेक्षताको विषयमा मौन रहे । न त उनले नेता कृष्ण गोपाल श्रेष्ठले भनेजस्तो कुनै रहस्योद्घाटन गरे । नत देशमै तरंग सिर्जना गर्ने गरी नयाँ कुराको खुलासा गरे ।
 


कस्तो लाग्यो ?

यो पनि