काठमाडौं । नेपाली कांग्रेसले सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध उत्रिन आह्वान गरेको छ ।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै उनले सो आग्रह गरेका हुन् ।प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम भएको कांग्रेसको ठहर छ ।
‘विधि र श्रृंखलावद्ध प्रवृत्तिविरुद्ध कांग्रेसले आन्दोलन गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले कुल्चिँदै आएको छ । संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले सोको विरुद्धमा उभिएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीत कर्म गरेको बतउँदै कांग्रेसले सर्वसत्तावादउन्मुख प्रवृत्ति विरुद्ध आफ्नो संघर्ष जारी रहने जारी विज्ञप्तिमा उल्लेख छ ।
के छ, जारी विज्ञप्तिमा
सर्वसत्तावाद उन्मुख विघटनका विरुद्धमा जुटौँ
प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ । विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको छ ।
जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौँ
नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौँ । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौँ ।
विधिविपरीतको प्रवृत्तिप्रति प्रष्ट विमति
संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिंदै आएको बिषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।