जेठ ०५, २०८१, शनिबार
               

गाडी चढेर आन्दोलनमा सहभागी भएकोमा प्रचण्डद्वारा आत्मालोचना

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । गाडी चढेर आन्दोलनस्थलमा पुगेपछि आलोचित बनेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसमा आफ्नो त्रुटि भएको स्वीकार गरेका छन् । आफैंले गरेको आमहड्तालमा आफू गाडी चढेर जाने तर, जनतालाई चिउराको भरमा दिनभरि आन्दोलन गर्न आदेश दिएका कारण उनी आलोचित बनेका थिए ।

उनले आफ्नो घरबाटै हिँडेर आन्दोलनस्थलमा सहभागी हुने इच्छा भए पनि सुरक्षाकर्मीले त्यसो नगर्न सुझाब दिएपछि त्यसलाई नकार्न नसकेको दाहालले दाबी प्रस्तुत गरेका छन् ।

सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘मैले गाडी चढेर आन्दोलनमा सामेल भएको भन्दै आलोचना भएको छ । त्यसलाई स्वीकार गरेको छु । त्यसो नगर्नुपर्ने थियो भन्ने पनि लागेको थियो । म घरबाटै हिँडेर आन्दोलनमा सामेल हुन चाहन्थे तर सुरक्षाकर्मीले मान्नुभएन । आगामी दिनमा विचार गर्नेछु ।’

दाहालले घुमाउरो रुपमा आफूलाई सुरक्षा थ्रेट भएकाले सुरक्षकर्मीको घेरामा गाडी चढेर आन्दोलनमा सहभागी हुनुपरेको सन्देश दिएका थिए ।

दाहालले बिहीबार आफैंले आह्रान गरेर सडकमा सर्वसाधारणको सवारी साधनमा रोक लगाइरहेका बेला आफै भने खुमलटारस्थित आफ्नो निवासबाट पुल्चोकसम्म गाडीमा पुगेर आन्दोलनमा सहभागि भएका थिए ।

त्यसलगत्तै उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो भने आलोचना पनि बढेको थियो । बिहीबारकै आन्दोलनमा दाहाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले स्कुटर चढेर निरीक्षणमा हिँडेको विषय पनि आलोचित भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि