जेठ ०६, २०८१, आइतबार
               

विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्चका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ । 

यसअघि, यही माघ १५ गते न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो । 

विप्लव नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बास्तोलाकोतर्फबाट हिमा बास्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गत पुस २९ गते बास्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बास्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि