प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनको नेतृत्व गर्दै थिए । प्रचण्डले सडकमा कार्यकर्तालाई उग्र प्रदर्शनमा सहभागी हुन अपिल गरे ।
यही माघ ९ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गर्दै प्रचण्डले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो ।आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिएजस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो ।’
यस्तै, पुष ३० गते प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गर्दै नभए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिएका थिए । एक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘यदि त्यसो भएन भने यहाँ ‘कयामत’ आउछ, आँधीहुरी, बतास आउछ ।’
आखिर, किन ? न्यायालयमाथि विश्वास नभएर हो ? अदालत र आयोगमाथि पूर्ण विश्वास रहेको प्रचण्डले बताएका थिए । उसो भए सडकमा टाउको फुटाउने गरी आन्दोलनमा सहभागी हुन प्रचण्ड किन कार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन् ?
यो आशंका धेलैरे गरेका थिए । नभन्दै बिहीबार प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालमा त्यस्तै भयो । कार्यकर्ता आक्रोशित थिए । धेरै ठाउँमा सवारी आगजनी गरे । कैयौँ ठाँउमा तोडफोड गरे । कतिपय होटल र पसल तोडफोड गरे । अस्पताल जान लागेका विराधी, परीक्षा दिन जान लागेका विद्यार्थीलाई बाटैमा रोकिए । बिहान दिँउसो काम गरेका छाकटार्नेहरु काममा जान पाएनन् । बन्दकर्ताहरु सडकमा हिंसात्मक प्रदर्शन गर्दैैरहे ।
उनीहरुले भनेजस्तो ‘प्रतिगमन’विरुद्धको कारबाहीमा पहिलो पंक्तिमा ट्याक्सी चालक, एम्बुलेन्स, तरकारी व्यापार गर्ने किसान, विद्यार्थी परे । आमहड्तालको नाममा तिनै वर्गमाथि निर्मम आक्रमण भयो । कतिपय ठाउँमा प्रहरीले हस्तक्षेप गर्दा झडप पनि भयो । केही ठाउँमा कार्यकर्ता घाइते भए । कतिपय ठाउँमा नेतासमेत घाइते भए ।
१० वर्ष सशस्त्र संघर्षमा ज्यान गुमाएका परिवार, अङ्गभङ्ग भई घाइते अवस्थमा रहेका योद्धा र बेपत्ता भएका परिवारले न्याय पाइनसकिरहेका बेला सडकमा टाउको फुटाउने गरी आन्दोलनमा सहभागी उक्साइरहेका प्रचण्डले प्रदर्शनमा आफू पनि टाउको फुटाउन तयार रहेको बताएका थिए ।भन्न त प्रचण्डले भनेका थिए, ‘यो पटक मेरो टाउको चिलाएको छ । टाउको फुटाउन मन छ । त्यसैले तपाईँहरुका अघि म हुन्छु ।’
तर बिहीबारको आमहड्तालमा उनले भनेजस्तै नन्भेज अर्थात् हिंसात्मक त भयो, तर आन्दोलनमा युवा कार्यकर्ताको मात्रै ठाउँको फुट्यो । उनी सुरक्षित थिए ।
गरीबको ट्याक्सी जलाएर, आफू पजेरो चढेर बन्द आह्रवान
गजब के छ भने कार्यकर्तालाई आमहड्तालमा उक्साएर प्रचण्ड भने सुरक्षाकर्मीसहितको ल्याण्डक्रुजर गाडीमा थिए । त्यही आन्दोलनलाई संबोधन गर्न उनी केही मिनेटका लागि कुपण्डोल गए । ट्याक्सी जलाएर आएका बिरामी बोक्ने एम्बुलेन्समाथि आक्रमण गरी फर्किएका, परीक्षा जान लागेका विद्यार्थी रोकेर फर्किएका कार्यकर्ताले गाडीमा सवार हुँदै आएका प्रचण्डको स्वागत गरे ।
प्रचण्ड समूहकै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि कम थिएनन् । उनी पनि कार्यकर्ताको स्कुटरमा बसेर आन्दोलन निरीक्षण गर्न निक्लिएका थिए । जनता चढ्ने गाडी रोकेर उनीहरु मस्त डुलिरहेका थिए । उनको ‘स्कुटीयात्रा’ पनि आमहड्ताल गिज्याउने परिदृश्यभन्दा भिन्न थिएन ।
गरीबको पेटमा लात हानेर सडकमै हसुर्दै
हड्तालका क्रममा प्रचण्ड नेपालसहित नेकपाका शीर्ष नेता सडकमा उत्रिएका थिए । साथमा थुप्रै कार्यकर्ता थिए । काठमाडौंको कोटेश्वर चोकलगायत ठाउँमा सडकमै खाना पकाएर बन्दकर्ताले खाए । आमहड्ताल हुँदा हुदाँखाने वर्ग भोकै रहे । तर, आमहड्ताल आह्वान गराउने भने सडकमै मासुभात खाएर रमिता देखाउँदै थिए ।
उता बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चियापसल तथा खाजाघरमा तोडफोड गरेका थिए । बन्दका बेला चिया पसल खोलेको भन्दै तोडभोड गर्दा पाँच महिनाकी सुत्केरी घाइते भएकी थिइन् ।
हड्तालको चौतर्फी विरोध
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएको प्रचण्ड–माधव नेकपाले बिहीबार देशव्यापी आमहडताल घोषणा गरेसँगै सामाजिकसञ्जालमा चर्को आलोचना भइरहेको छ । खासगरी नयाँ संविधान निर्माण र त्यसपछि स्थायित्वको नारा दिँदै सरकार गठन भएयता केही समयदेखि राजनीतिक दलले बन्द हडताल गर्न छाडेका थिए । तर, बिहीबारको हड्तालसँगै अब यो क्रम फेरि सुरु हुने चिन्ता व्याप्त देखिन्छ ।
बन्द हडतालको जथाभावी प्रयोगप्रति राजनीतिक विश्लेषक भन्छन्, ‘जुन नोक्सानी हुनेवाला छ,तर दलले त्यही किसिमको सङ्घर्ष बारम्बार अपनाइरहेको देखिन्छ, उनीहरू चेतिरहेको देखिँदैन ।’