बैशाख १६, २०८१, आइतबार
               

राजनीतिक स्थायित्वका लागि संसद् विघटन गरिएको हो : बादल

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक स्थायित्वका लागि संसद् विघटन गरेको बताएका छन् । 

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सो बताएका हुन् ।

देशमा राजनीतिक स्थायित्व कायमका लागि  संसद् विघटन गरिएको उनले बताए । ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न जनतामा जाने निर्णय गरेको हो,’ उनले भने, ‘जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ ।’

विघटित संसद्ले स्थायित्व दिन नसक्ने उनको भनाइ छ । राजनीतिक औचित्य सिद्धिएका कारण संसद् विघटन गर्नुपर्ने आवश्यकता आएको बताउँदै उनले विघटित संसद्को पुनर्स्थापनाले  समस्याको हल गर्न नसक्ने बताए ।

पुरानो संसद्ले राजनीतिक अस्थिरता पैदा गर्ने भएकाले नयाँ संसद् गठनपश्चात् मात्र स्थायित्व कायम हुने उनको भनाइ छ । सोही क्रममा उनले निर्वाचन आयोगले अध्यक्ष र महासचिव रहेको पार्टी नै वैधानिक पार्टी भनेको बताए । सत्ता पक्ष र प्रतिपक्ष सबै चुनावमा होमिएको बताउँदै उनले सर्वोच्च अदालतले पनि निर्वाचनकै पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि