जेठ ०६, २०८१, आइतबार
               

ओली पक्षको शक्ति प्रदर्शन बिथोल्न प्रचण्ड पक्षद्वारा बन्द आह्वान, मुठभेठको खतरा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

मुलुकको राजनीति फेरि एकपटक जटिल परिस्थितिमा आइपुगेको छ। तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भएको थियो । एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई अध्यक्ष बने । उनीहरू हुन् केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) । त्यसलाई प्रतीकात्मक रूपमा एउटै जेट विमानमा दुई पाइलट भनियो । 

तर, अहिले परिस्थिति फेरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री  ओली र प्रचण्ड अहिले छुटिएका छन् । पूर्वएमालेका माधवकुमार नेपाल पक्ष प्रचण्डसँग छन् ।

उनीहरू दुवै पक्षले सिङ्गो नेकपालाई छाडेर गुटको नेतृत्व गरिरहेका छन् । यो परिस्थिति ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपश्चात सिर्जना भएको हो । त्यसपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै आएका छन् । सार्वजनिक कार्यक्रममा दुई पक्षबीच गालीगलौच र आरोपप्रत्यारोप जारी छ । यस्तै, प्रतिकुल परिस्थितिबीच प्रचण्डले केही साताअघि हिंसात्मक आन्दोलनको आवश्यकता रहेको बताएका थिए । लगतै छिटपुट हिंसात्मक बन्दै आएको प्रदर्शन अब भने मुठभेठमै जाने खतरा देखिएको छ ।

ओली पक्षले २३ माघ शुक्रबारका दिन काठमाडौंमा विशाल जनप्रदर्शनको घोषणा गरेको छ । यो घोषणा सो समूहले दुई साताअघि नै गरेको थियो । तर, ओली समूहको शक्ति प्रदर्शन कार्यक्रम राखेको अघिल्लो दिन बिहीबार प्रचण्ड नेपाल पक्षले आमहडताल घोषणा गरेको छ। प्रचण्ड नेपाल समूहले बुधबार मात्रै आकस्मिक रुपमा सो आमहडताको घोषणा गरेको हो । दाहाल-नेपाल पक्षको सो घोषणासँगै ओली पक्षको शक्ति प्रदर्शन प्रभावित हुने देखिएको छ । 

दाहाल-नेपालको सो कार्यक्रमलाई ओली पक्षले आफूहरुको कार्यक्रम बिथोल्ने र मुठभेठ निम्ताउने नियतका साथ ल्याइएको आरोप लगाएको छ । 

‘प्रदर्शनमा जिल्ला जिल्लाबाट स्वतःस्फूर्त कार्यकर्ता तथा आमजनता काठमाडौँ आउने देखिएपछि बिथोल्ने नियतले प्रचण्ड ओली पक्षले बन्दको कार्यक्रम राखेका हुन् । शान्तिपूर्ण आन्दोलन बिथोल्दै मुठभेठ निम्ताउन यस्तो गरिँदै छ,’ ओली पक्षका नेता कृष्णकुमार श्रेष्ठ बताउँछन् । 

यता प्रचण्ड–नेपाल पक्षका नेताहरूले भने सरकारले संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लङ्घन गरेकाले बन्दको आह्वान गरेको जिकिर गरेको छ। बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गरेका हौँ ।’

यसरी नेपाका दुवै पक्षले एकैसाथ जुधाएर विरोधका कार्यक्रम राख्दा हिंसात्मक झडप हुने आशङ्का गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि