बैशाख १७, २०८१, सोमबार
               

छापामार शैलीमा संविधानविरोधी काम हुन थालेपछि संसद् विघटन गरिएको हो : पौडेल

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्रबाट छापामार शैलीमा संविधानभन्दा फरक खालका अभ्यास हुन थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । 

आइतबार मुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा राजधानी काठमाडौंमा आयोजित अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । 

‘छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध र संसदीय दलको विधानभन्दा पृथकखालका अभ्यास गर्ने षड्यन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको हो,’उनले भने, ‘अनुशासित प्रतिनिधिसभा निर्माणका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीबाट भएको हो ।’
सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका काम गरिरहँदा साथ समर्थन दिएर सहयोग गर्नुको सट्टा पार्टीभित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रयास भएको उनले बताए । 

‘संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधिसभाको आवश्यकता छ,’ पौडेलले भने । 

सो क्रममा उनले दाहाल नेपाल समूहलाई इंकित गर्दै अझै पनि केही मानिसहरु प्रतिनिधिसभा पुनर्स्थापना भन्ने भ्रमले छातीमा पोस्टर टासेर सडकमा बसेको बताए । ‘संविधानको अर्थ र मर्मलाई बुझ्‍ने  हो भने प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन,’ उनले भने।


कस्तो लाग्यो ?

यो पनि