प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरु आज (बुधबार) माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराई लगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन् ।
‘संसद विघटन गर्न पाईंदैन’ भन्नेलगायतका नारा लेखिएका पम्पलेट छातिमा टाँसेर उनीहरु त्यहाँ धर्नामा बसेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिकरुपमा विभाजित भई बनेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा अहिले विघटनविरुद्ध आन्दोलित छ ।
आन्दोलनरत् नेकपाले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको हो ।