काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । संसद विघटनविरुद्ध राजधानीमा कांग्रेसले गरेको विरोधसभामा बोल्दै नेता सिंहले शनिबार सो कुरा बताएका हुन् ।
‘संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर बस्न सक्दैन, संबोधनका क्रममा नेता सिंहले भने, ‘असंवैधानिक कदमविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा एकैसाथ गरेको बताउँदै उनले झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताए । त्यसैगरी, उनले प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरी प्रतिनिधिसभा भंग गरेको पनि बताए ।
संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार हटाइएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार गरेको उनको भनाइ छ ।
संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको उनको भनाइ छ ।
असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै पनि तरिकाले हुन नसक्ने बताउँदै उनले दुईतिहाइको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ र भनी प्रश्न गरे ।