जेठ ०७, २०८१, सोमबार
               

नेकपाको आमसभाबाट निर्वाचनको सिर्जना

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

धनगढी । प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो पटक शुक्रबार आयोजना गरेको सदूरपश्चिमस्तरीय आमसभाले मध्यावधि निर्वाचनको लागि उत्साहको वातावरण सिर्जना गरेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक परिस्थितिमा पहिलो पटक काठमाडौं बाहिर पार्टीले आयोजना गरेको बृहत् कार्यक्रममा सुदूरपश्चिमलाई प्राथमिकतासहित उपस्थिति भई सम्बोधन गर्नाले उत्साह देखिएको हो । कैलालीको धनगढीस्थित खुल्लामञ्चमा अपराह्न आयोजित सभामा कार्यकर्ता र जनस्तरको उपस्थितिले निर्वाचनको रौनक प्रदर्शन गरेको थियो ।

प्रधानमन्त्री ओली धनगढी आउने भन्ने सूचनाले नै केही दिनदेखि यहाँ राजनीतिक चासो बढाएको थियो भने तयारीका क्रममा पार्टीका केन्द्रीय र प्रदेशस्तरका नेता, संघीय मन्त्रिगण गत सातादेखि जुटेका थिए । प्रधानमन्त्री ओली गत निर्वाचनअघि तत्कालीन नेकपा (एमाले) ले आयोजना गरेको राष्ट्रियताका लागि ‘मेची महाकाली जागरण अभियान’ पछि शुक्रबार पहिलो पटक पार्टीको राजनीतिक सभाका लागि यस प्रदेशमा आएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्र र गणतन्त्रका लागि ५० वर्ष लामो संकर्ष गरेको बताउँदै देश र जनताका पक्षमा काम गर्न नदिइएकाले ताजा विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको बताए । आफू मुलुकको विकासनिर्माणमा केन्द्रित भएको बताउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना नहुने भएकाले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट गराए ।

उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भू–भाग भएकाले त्यसलाई भारतले ससम्मान फिर्ता दिने विश्वास व्यक्त गरे । उनले सरकारले नेपाली भू–भाग समावेश गरेर नयाँ नक्शा प्रकाशन गरेपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरुलाई पिर परेको टिप्पणी पनि गरे । 

उनले सुदूरपश्चिम प्रदेशबाट सधैँ एकै व्यक्तिलाई मन्त्री बनाउने परम्परा तोडेर आफूले एकै पटक चार जनालाई मन्त्री बनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् आयोजनालाई लगानी जुटाएर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

धनगढी विमानस्थलमा शुक्रबार बिहान ११ः ३० बजे अवतरण भएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्त, संघीय मन्त्री एवं पार्टीका प्रदेश संयोजक लेखराज भट्ट, पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

विमानस्थलदेखि धनगढीसम्म प्रधानमन्त्री सवार गाडीको अगाडि पछाडि कार्यकर्ताको उत्साहपूर्ण सहभागिता थियो । प्रधानमन्त्री ओली विमानस्थलबाट र्यालीसहित नेपाल राष्ट्र बैंकको आवासगृहमा पुग्दा त्यहाँ पनि ठूलो सङ्ख्यामा उपस्थित नेताकार्यकर्ताले कम्युनिष्ट पार्टीको झण्डा र सूर्य चिह्नाङ्कित झण्डा फहराउँदै स्वागत गरेका थिए ।

त्यहाँ नेता कार्यकर्तासँग भेटघाटका साथै अध्यक्ष ओलीले केन्द्रीय समितिमा मनोनयन भई शपथ लिन बाँकी  सदस्यलाई शपथ  गराएका थिए । शपथग्रहणमा हालै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएका झपटबहादुर बोहरालगायत थिए ।

नेकपा कैलालीका जिल्ला अध्यक्ष रतन थापाले आन्तरिक विवाद भए पनि आधिकारिक पार्टी आफूहरुको नै हुने र देशको समृद्धि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा सम्भव हुने भएकाले निर्वाचनमा लाग्न आग्रह गर्दै आजको सभाले त्यसतर्फ थप वातावरण निर्माण गरेको बताए । उनले नेपालको समृद्धिको आशा एवं भरोसाका लागि ओली नेतृत्वको नेकपालाई प्रदेशका कार्यकर्ता र जनताले हेरिरहेको जनाए । नेकपाले सुदूरपश्चिम प्रदेश कमिटीलाई विस्तार गरेपछि अब जिल्ला र पालिकास्तरमा सङ्गठन विस्तारको क्रम चल्ने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि