जेठ ०७, २०८१, सोमबार
               

नेकपा मिलाउने चीनको मिसन : आन्तरिक मामिलामा हस्तक्षेप
नेकपाका नेताहरूको राष्ट्रिय स्वाभिमानको प्रतिबद्धतामा प्रश्न

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुन: एक ठाउँमा ल्याउने कसरतस्वरूप चिनियाँ अधिकारीको दौडधुप जारी छ । संसद् विघटनलगतै नेकपाका नेतासँग संवाद थालेका उनीहरू भेटघाटमा व्यस्त छन् । 

चीन नेपालका कम्युनिस्ट फुट्न लाग्दा सबैभन्दा बढी चिन्तित रहेको उसका गतिविधले देखाउँछ । विभाजनपछि सम्भवतः नेपालमा कम्युनिस्ट सत्तामा नरहने डरले पनि उनीहरु नेकपा एकीकृत गराउने प्रयासमा छन् ।

नेकपालाई सकेसम्म जोड्ने र आफूअनुकूल लाभ लिने प्रयासस्वरूप चिनियाँ टोली लगातार काठमाडौं आइरहेका छन् भने चिनियाँ राजदूत हाउ यान्छीको एजेन्डासहित नेकपा नेतासँग गोप्य बैठकमा रहने क्रम जारी छ । 

सत्तारुढ दल (नेकपा)को विवादमा चिनियाँ टोली र नेपालस्थित चिनियाँ राजदूतको सक्रियता संलग्नता नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको विश्लेषकहरूको बुझाइ छ । जानकार भन्छन्, ‘यस्तो हस्तक्षेप नेकपाका नेताहरूका आपत्तिजनक नभए पनि देशको हितमा हुँदैन ।’ अर्को देशको राजनीतिक दलको आन्तरिक विवादको मामिलामा छिमेकी देशका अधिकारी तथा राजदूत सक्रिय हुनु त झन् बढी अमर्यादित र आपत्तिजनक विषय भएको घटनाक्रमलाई नजिकबाट नियाल्नेहरूको टिप्पणी छ ।

विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘यहाँका राजनीतिक दलले विदेशी हस्तक्षेप आमन्त्रित गर्दा राष्ट्रिय राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पर्छ । आन्तरिक मामिलामा चिनियाँ अधिकारी वा राजदूतको अनुपयुक्त सक्रियताबाट स्वयं नेकपा र त्यसका नेताको लोकतन्त्र र राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको छ ।’

नेकपाको विभाजनले कम्युनिस्ट पार्टीको सरकार नहुने र आफ्नो एजेन्डामा साथ दिने दलको अर्को सरकार बन्न नसक्ने आङ्कलन चीनको छ । यसैले आफूअनुकुल रहेको कम्युनिस्ट सरकारलाई स्थायित्व दिन चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलको सक्रियता रहेको चिनियाँ स्रोतको दाबी  छ। 

कुनै राजनीतिक दलभित्रको किचलो मिलाउन यसरी उच्चस्तरको प्रतिनिधि मण्डल नेपाल आएको सम्भवतः यो पहिलोपटक हो । नेकपाको आन्तरिक विवादमा अर्को राष्ट्रको चासो, चिन्ता र हस्तक्षेपको प्रयास भएको काठमाडौंमा स्वतन्त्र युवाद्वारा चीनविरुद्ध प्रदर्शनसमेत गरिरहेका छन् । 

विशेष विमानदेखि स्थल मार्गसम्मको प्रयोग

संसद् विघटनलगतै चिनियाँ कम्युनिस्ट पार्टीका नेता गुओ यझाओ नेतृत्वको टोली विशेष विमानमार्फत् नेपाल आएको थियो । चारदिने काठमाडौं बसाइको क्रममा सो टोलीले राष्ट्रपतिदेखि नेकपा शीर्ष नेताहरूसँग संवाद गरेको थियो । चिनियाँ टोलीको आग्रह थियो ‘नेकपा नफुटोस्, एकीकृत नेकपाले चीनसँग सबै विषयमा सहकार्य गरेर अघि बढोस् ।’

टोली फर्किएपछि चिनियाँ राजदूत यान्छीले पहिलाजस्तो नेकपाका नेतालाई गोप्य रूपमा भेट्दै कुराकानी गरिरहेकी थिइन् । छलफलमा उनले नेकपाका नेतालाई पार्टी नफुटाउन सुझाव दिँदै आएकी थिइन् ।

नेकपामा विवाद चर्किँदा विगतमा उनी पटक-पटक सक्रिय हुँदै आएकी थिइन् । गत वैशाख र असारमा यसपटक पनि राजदूत हाउ यान्छी कूटनीति मर्यादाविपरीत अनपेक्षित रूपमा सक्रिय छिन् ।

त्यससँगै पुन: स्थलमार्गबाटै चिनियाँ कम्युनिस्ट पार्टीका केही नेता काठमाडौं आएका छन् । रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपा नेतालाई छुट्टाछुट्टै भेटिरहेका छन् । नेपाल आएर सक्रिय रहेको सो टोलीले सकेसम्म मिलाउने प्रयास गरिरहेको छ । चिनियाँ अधिकारीहरू झुकेनलाई, योङलिन झु र डोङ्मे हुङ नेकपा विवाद मिलाउन भन्दै डिसेम्बर २६ मा नेपाल आएका थिए । उनीहरुको प्रयास अझै जारी रहेको स्रोतको दाबी छ। यद्यपि नेकपाका दुवै समूहले बेग्लाबेग्लै कार्यक्रम, भेला र प्रशिक्षण गरिरहेका छन् । त्यहाँ अभिव्यक्त धारणाले पनि उनीहरूबीचको दुरी झन् बढाइरहेको छ।

राजदूत यान्छीकोको दौडधुप

चिनियाँ अधिकारीको टोली नेपाल आउने क्रम जारी रहे पनि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता घटेको छैन । नेकपाका प्रमुख नेतासँग अनौपचारिक कुराकानी गरिरहेकी छिन् ।

यान्छीले पछिल्लोपटक बुधबार नेकपा केपी ओली समूहका नेताहरूलाई भेटेकी थिइन् । भेटमा उनले नेकपामा नेताहरूको व्यवस्थापनमा समस्या रहेकाले त्यसलाई मिलाएर अघि बढ्नुपर्ने चिनियाँ नेतालाई सुझाव दिएकी बालुवाटार स्रोतको दाबी छ। यान्छीसँगको भेटमा ओली समूहका रामबहादुर थापासहितका नेता सहभागी थिए । भेटमा राजदूत यान्छीले नेकपा विभाजन नहोस् भन्ने चिनियाँ चाहना रहेको सुनाउँदै मिल्न सुझाव दिएको स्रोतले बतायो ।

उनले पार्टी एकताको विकल्पसमेत सुनाएकी थिइन् । पार्टी मिल्न नसके निर्वाचनमा सहकार्य गर्न पनि सुझाएकी थिइन् ।

त्यस्तै, राजदूत यान्छीले नेकपा प्रचण्ड–नेपालनिकट समूहका युवा नेतासँग पनि भेट गरेकी छिन् । उनले शीर्ष नेताहरूलाई व्यवस्थापन गरेर अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ।

नेकपाका एक नेताले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको चाहना नेपाल कम्युनिस्ट पार्टी विभाजन नहोस् भन्नेछ। नेकपाका शीर्ष नेताहरूको उचित व्यवस्थापन गरेर समस्या सुल्झाउन सकिन्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको सुझाव छ। प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका कारण आफूहरू बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको बताएका थिए ।

यो पनि