जेठ ०७, २०८१, सोमबार
               

नेकपाको भातृसंगठन पनि विभाजित, दुवै पक्षले बनाए अलग-अलग सङ्गठन
आधिकारिकता पर्खँदै पूर्वएमाले पक्षधर

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

नेकपा विभाजनको असर केन्द्र, प्रदेश हुँदै भातृसंगठन भनेर चिनिने जनवर्गीय सङ्गठनमा समेत परेको छ । कानुनी रूपमा आधिकारिक विभाजन भइनसके पनि अधिकांश जनवर्गीय सङ्गठन विभाजन भइसकेको छ ।

केन्द्रमा पार्टी औपचारिक रूपमा विभाजन भइसकेपछि मात्रै ती सङ्गठनहरूले पनि औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहबीच आफ्नो पक्षमा कार्यकर्ता तान्ने अभियान तीव्र भएपछि जनवर्गीय सङ्गठनहरू विभाजित भएका हुन् । सङ्गठनमा रहेका ओली पक्षीय नेता कार्यकर्ताहरूको छुट्टै भेला हुँदै आएको छ । प्रचण्ड-नेपाल पक्षको छट्टै भेला हुँदै आएको छ । यद्यपि उनीहरूले औपचारिक माईन्युट गरेका छैनन् । भातृसंगठनका नेताहरूले भने एक अर्को पक्षलाई कारबाही गरिसकेका छैनन् । कतिपय सदस्यहरू भने निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पर्खिरहेका छन् ।

नेकपाका २२ भातृसंगठनमध्ये १३ वटा भातृसंगठनको नेतृत्व तत्कालीन नेकपाले पाएको थियो । १३ मध्ये ९ वटाका संयोजक ओली पक्षीय छन् । तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिएको थियो । ती सबै अहिले नेतृत्व भने प्रचण्ड–नेपाल पक्षमा छन् । 

भातृसंगठनका धेरै नेता कार्यकर्ताका ठूलो हिस्सा जता सुर्य चिह्न उतै जाने मनस्थितिमा छन् । अहिले गुटको बैठक भेला भए पनि पूर्वमाओवादी पक्षधर प्रचण्ड-नेपाल गुटमै गएका छन् । तर पूर्व एमालेबाट आएकाहरू भने सुर्य चिन्हकै कारण पर्ख र हेरको अवस्थामा देखिएका छन् । 

विद्यार्थी सङ्गठनका संयोजक ऐन महर ओली पक्षमा छन् भने सहसंयोजक रञ्जित तामाङ प्रचण्ड–नेपाल पक्षमा भेला गर्दैैछन् । पार्टी नेतृत्वसँगै विद्यार्थी सङ्गठनले समेत अलग–अलग भेला तथा प्रशिक्षण कार्यक्रम राखिरहेका छन् । प्रचण्ड-नेपाल पक्षमा तामाङ नेतृत्वको अनेरास्ववियूले सडक आन्दोलन समेत गरिरहेको छ । महर नेतृत्वको अनेरास्ववियूले भने ओलीको पक्षमा स्वागत जुलुस निकालिरहेको छ ।

युवा सङ्गठनमा संयोजक तत्कालीन माओवादीका रामप्रसाद सापकोटा प्रचण्ड-नेपाल पक्षमा छन् । उनले पनि आफ्नो पक्षमा धेरै नेता कार्यकर्ता ल्याउने माहाेल मिलाउन देशैभर भेला तथा प्रशिक्षण कार्यक्रम राख्दै आएका छन् । सहसंयोजक रमेश पौडेल भने ओली पक्षमा छन् । उनी पूर्व एमालेकै पुरानो युवासंघलाई ब्युताउँने कसरतमा छन् ।

यता महिला सङ्गठनका संयोजक तत्कालीन अमृता थापा प्रचण्ड–नेपाल पक्षमा छिन् ।  सहसंयोजक सीता पौडेल ओली पक्षमा छिन् । मजदुरतर्फ संयोजक विनोद श्रेष्ठ र सहसंयोजक जगत सिम्खडा दुबै प्रचण्ड-नेपाल पक्षमा छन् ।

यता पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन पनि विभाजित भइसकेको छ । संयोजक महेश्वर दाहाल प्रचण्ड–नेपाल पक्षमा छन् । सहसंयोजक गणेश बस्नेत ओली पक्षमा छन् । बस्नेत तत्कालीन प्रेस चौतारी ब्युँताउने तयारीमा छन् । दुवै पक्षले गोप्य भेला गर्दै तल्ला तहका आफू पक्षधरलाई अलग सङ्गठन बनाउन निर्देशन दिइरहेका छन् ।

यता बुद्धिजिवी सङ्गठनतर्फ दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसी दुवै प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोधमा छन् । यस कारण दुवै प्रचण्ड-नेपाल पक्षमा लागेका देखिन्छन् । 

पेसागत संयोजक विश्वनाथ प्याकुरेल ओली पक्षमा छन् । जन सांस्कृतिक संयोजकमा खगेन्द्र राई ओली पक्षमा छन् । ओली इतर पक्षका नेताहरूले पनि  छुट्टै भेला गर्दै छुट्टै सङ्गठन बनाइरहेका छन् ।

भातृसंगगठनका पदाधिकारीहरू अधिकांशले आफ्नो कित्ता क्लियर गरिसके पनि केही सदस्यहरू भने पर्ख र हेरको अवस्थामा रहेका नेताहरू बताउँछन् ।

‘अहिले पनि नेता–कार्यकर्ताको ठूलो हिस्सा कतैतिर पनि खुलेको छैन । नखुलेका साथीहरूको जोड अहिले पनि पार्टी एकता हुनुपर्छ भन्नेमै छ,’ नेताहरू भन्छन्, ‘पार्टी एकता भएन भने जुन समूहले आधिकारिकता पाउँछ, उतै लाग्ने खालको मानसिकता उनीहरूमा देखिन्छ ।’

यो पनि