जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रियसभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक भन्न मिल्दैन’
म भएको भए राजीनामा दिन्थेँ

नेपाल फ्ल्यास
पुस २३, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटनलाई असंवैधानिक भन्न नमिल्ने बताएका छन् ।

साथै उनले आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने काम गलत भएको बताएका छन् ।

गौतमले प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको समेत उल्लेख गरे । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा पहिलो सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे ।

कुनै पनि छलफलबिना आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु गलत भएको उनको तर्क छ ।

पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’

उनले भने, म भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’

नेकपामा राजनीतिक विभाजनपछि प्रधानमन्त्री ओली र प्रचण्डमाधव दुबै पक्षमा नलागेका नेता गौतमले आधिकारिकता विवाद रहेको अवस्थामा आफू तटस्थ रहने बताए ।

दुबै समूहका नेता अहिले आफैलाई लाज लाग्ने गरी आरोप-प्रत्यारोपमा उत्रिएको समेत गौतमले बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको रिट पुगिसकेपछि संसद विघटन संवैधानिक भएको गौतमले बताएका हुन् ।

गत पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि