दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा (संसद) पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले संसद विघटन गर्ने कार्यलाई बेमौसमी बाजाको संज्ञा दिए ।
अध्यक्ष केसीले सत्तारुढ दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।
उनले दक्षिणी मुलुक (भारत) ले नेपालमा अस्थिरता सिर्जना गर्न पटक–पटक गरेको प्रयास स्वरुप संसद विघटन भएको आरोप समेत लगाए ।
विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरी संघीयता खारेज गर्नुपर्ने उनको तर्क छ ।
यसैबीच, अध्यक्ष केसीले एमसिसी कुनै पनि हालतमा नेपालको हितमा नरहेको दाबी गरे ।
अध्यक्ष केसीले बिहीबार दाङको घोराहीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही कार्यक्रमको लागि अध्यक्ष केसी दाङ पुगेका हुन् ।