जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्ड नेपाल पक्षलाई महासचिव चयन गर्न सकस
पूर्वमाओवादीलाई दिने तयारीपछि पूर्वएमाले पक्ष असन्तुष्ट

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

नेकपा (दाहाल- नेपाल पक्ष)मा महासचिवबिना नै सम्पूर्ण गतिविधि सञ्चालन भइरहेको छ । सो पक्षीय नेकपामा महासचिव चयन हुन नसक्दा सम्पूर्ण गतिविधि महासचिवबिनै सञ्चालन भएका हुन् । पार्टी विधानमा अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक मिति र एजेन्डा तय गर्ने र बैठक बोलाउने भनिए पनि सो पक्षसँग महासचिव छैनन् । 

महासचिव विष्णु पौडेल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा गएपछि प्रचण्ड–नेपाल पक्षमा महासचिव पद रिक्त छ । सो समूहले अध्यक्षबाट ओलीलाई भने हटाएको छ । अब सो पक्षले महासचिव पनि  हटाउने तयारी गरेको छ । तर, पोखरेललाई हटाएर अर्को महासचिव कसलाई बनाउने भन्ने विषय टुङ्गो नलाग्दा उनलाइ हटाइएको छैन । प्रचण्ड र नेपाल दुवै पक्षले महाचिवमा दाबी गरेपछि नयाँ  महासचिव चयन हुन नसकेको हो । 

‘भावी महासचिवका लागि पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फबाट दाबी प्रस्तुत भएका छन्,’  प्रचण्डनिकट एक नेताले भने, ‘त्यसमा पनि पूर्वएमाले पक्षबाट माधव नेपाल र झालनाथ खनालले आ–आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ, जसका कारण अहिलेसम्म महासचिव चयन हुन नसकेको हो ।’ 

गत पुस ९ गते महासचिव चयन गरी केन्द्रीय समितिमा प्रस्ताव गर्ने भनिए पनि अन्तिम समयमा विवाद बढेपछि मूल पार्टीबाट अलग्गिएर नेकपाकै नाममा गतिविधि गरिरहेको प्रचण्ड–नेपाल समूहले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको थियो ।

स्थायी कमिटीलाई जिम्मा दिनुअघि समूहका अध्यक्ष द्वय प्रचण्ड र नेपालले भावी महासचिवको रूपमा सुरेन्द्र पाण्डेको नाममा अनौपचारिक सहमतिसमेत गरिसकेका थिए । पाण्डेलाई महासचिव बनाउने सहमतिअनुसार सोही दिनको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव प्रस्तुत गर्ने तयारी भए पनि अन्तिममा विवाद देखा परेपछि रोकिएको थियो । पाण्डेलाई महासचिव बनाउन दुवै अध्यक्ष सहमत भएको सूचना पाएपछि मुख्यतः पूर्वमाओवादी नेताहरूले त्यसमा आपत्ति जनाए । 

त्यसपछि पाण्डेको मनोनयन रोकिएको हो । प्रचण्ड नेपाल समूहमा विघटित प्रतिनिधिसभाका सांसद मात्रै होइन, केन्द्रीय कमिटीमा पनि पूर्वमाओवादी समूहका सदस्य बढी भएको तर्क गर्दै महासचिव पनि माओवादीबाट हुनुपर्ने भन्दै पूर्वमाओवादी नेताले  प्रचण्डसँग जोड गरेपछि उनी पछि हटेका हुन् । सांसद र केन्द्रीय सदस्यको बहुमत भए पनि पूर्वमाओवादीबाट महासचिव हुन सकेनन् भने एकीकृत पार्टीमा भएको समस्या पुनः प्रचण्ड–नेपाल समूहमा देखा पर्नेछ र नयाँ पार्टीमा एमाले हाबी हुने माओवादीहरूको भय छ। 

‘महासचिवबिना बैठकको माइन्युट गर्ने  र बैठक बसाउन नसकेको अवस्था भोगिसकेकाले र निर्वाचन आयोगलगायत अन्य सरकारी र वैधानिक निकायमा पत्राचार महासचिवबिना हुन नसक्ने समस्या रहेकाले पूर्वएमाले समूहलाई नभई माओवादीबाट हुनुपर्ने सङ्ख्यात्मक तथा व्यावहारिक आधार रहेको छ,’ एक नेताले भने ।

विगतमा पार्टी एक हुँदा पार्टीमा बहुसङ्ख्यक पूर्वएमाले भएकाले अध्यक्ष र महासचिव उतै दिइएको पूर्वमाओवादी नेताको तर्क छ । अहिले प्रचण्ड नेपाल पक्षमा  विघटित प्रतिनिधिसभाका ५२ सांसद पूर्वमाओवादीबाट छन् । पूर्वएमालेबाट जम्मा ३७ जना छन् ।

त्यसो त पूर्वएमाले समूहबाट पाण्डे मात्रै होइन, महासचिवमा भीम रावलले पनि दाबी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्ष भएकाले पाण्डेभन्दा आफू वरिष्ठ भएको तर्क उनको छ । 

उता, पूर्वमाओवादी समूहबाट यसअघि महासचिव भइसकेका कृष्णबहादुर महरालाई दोहोर्‍यानुपर्नेमा प्रचण्ड पक्षीय नेताले जोड दिएका छन् । उनी पार्टीमा सचिवालय सदस्य मात्र होइन, अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्रसमेत हुन् । 

प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि पार्टीमा फरक भूमिका खोज्दै छन् । उनको चाहना महासचिव पदमा देखिन्छ । त्यस्तै सो पदमा वर्षमान पुन र जनार्दन शर्माले पनि दाबी प्रस्तुत गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि