जेठ ०७, २०८१, सोमबार
               

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा  नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे । 

यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्काे सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गर्नुभयो । “म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्, चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।”

प्रधानमन्त्री ओलीको प्रश्न थियो, “के चुनावमा जाँदा गणतन्त्र, सङ्घीयता र  धर्मनिरपेक्षता सङ्कटमा पर्छ र ? झन् बलियो हुने होइन र ?” विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे ।

नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्काे पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे । 


कस्तो लाग्यो ?

यो पनि