जेठ ०६, २०८१, आइतबार
               

नेकपालाई चिनियाँ सन्देश–‘पार्टी नफुटाऊ, चुनावमा मिलेर जाऊ’

ADVERTISEMENT

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीको प्रतिनिधिमण्डलले उच्च पदाधिकारीहरुसँगको भेटमा राजनीतिक स्थिरताबारे चिन्ता व्यक्त गरेको छ । नेपालमा सङ्घीय संसद्को तल्लो सदन विघटन गरिएपछि विकसित राजनीतिक घटनाक्रमका माझ आइतबार काठमाडौं आएको चिनियाँ प्रतिनिधिमण्डले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका नेतासँगको भेटमा यस्तो चिन्ता व्यक्त गरेको हो । 

चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशकसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीसँग आइतबार साँझ भेटघाट गरेको छ । यस्तै,  चिनियाँ टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेपाल समूहका माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललाई सोमबार भेटेको छ।

यसअघि नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयास गरेको भन्ने खबर सार्वजनिक भएका थिए । अहिले सत्तारुढ दल नेकपाको विभाजन हुँदै गर्दा चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

नेकपाभित्रको शक्ति सङ्घर्षले पार्टी विभाजनसम्म पुग्दा चिनियाँ टोलीहरूको भेटले नेकपाको एकता जोगाउने चिनियाँ प्रयासका रूपमा धेरैले हेरेका छन् । नेकपाका नेताहरूले भने चिनियाँ टोलीको भेटघाटले नेपालको आन्तरिक घटनाक्रमलाई कुनै असर नपार्ने दाबी गर्दै आएका छन् ।

नेकपाकै नेताहरूका अनुसार भेटमा चिनियाँ टोलीले पार्टी विभाजन नगर्न सुझाव दिएका छन् । अहिल्यै विभाजनामा नजान र कम्तीमा चुनाव नै हुने अवस्थामा पनि नेकपा अझै मिलेर जाऊन् भन्ने मनसाय उनीहरूमा देखिएको नेताहरूको भनाइ छ । 

नेकपा अध्यक्ष प्रचण्डनिकट एक नेताले भने, ‘पार्टीमा बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने चासो राख्दै समेसम्म एक हुन सुझाव दिएका छन् ।’

चिनियाँ चाहना – नेपालमा कम्युनिस्टको स्थिर सरकार

चिनियाँ टोलीले आइतबार राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेका थिए । उनीहरूले नेपालको पछिल्लो घटनाक्रमको विषयमा चासो राखेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट हिँडिरहेको र आफ्नो संविधान अनुरूप लोकतान्त्रिक बाटोबाटै त्यसको निरुपण हुने बताएकी थिइन् ।

पछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको थियो । भेटका क्रममा केके विषयमा कुरा भयो भन्ने विषय बाहिर आएको छैन । तर, प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई भने, ‘प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रति नेपालको अडान र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनेबारे पुनः आश्वस्त पारेका’ बताएका छन् । भट्टराईको उक्त फेसबुक पोस्टमा पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा भए नभएको केही उल्लेख छैन ।

सोमबार बिहान चिनियाँ टोलीले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ ।  प्रचण्ड निवास खुमलटारमा झन्डै एक घण्टा भएको भेटमा ‘स्थिर सरकार वा नेकपाकै जोसुकै प्रधानमन्त्री भए पनि बरु पार्टीमा फुट नआइदिए हुन्थ्यो भन्ने आफ्नो पुरानै कुरा दोहोर्‍याएको’ प्रचण्डनिकट एक नेताले बताए । 

‘नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। यस्तोमा नेकपामा विभाजन देखिँदा चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाउनु स्वाभाविक हो,’ प्रचण्ड निकट एक नेताले भने, ‘उहाँहरूको चाहना अझै पनि नेकपा एकबद्ध हुनुपर्छ भन्ने देखियो ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि