बैशाख २७, २०८१, बिहीबार
               

नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

ललितपुर । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् । ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुने बताए ।

‘यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो, हामी मिलेर पार्टी एकताको पहल गरौँ’, प्रचण्ड–नेपाल समूहतर्फ इङ्गित गर्दै उनले भने, ‘अन्तरविरोधको हलतिर लागौँ, हामी तपाईँहरुलाई अझै साथ दिन तयार छौँ, यदि हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प  छैन ।’ 

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रमभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खोजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए । उनले भने, ‘आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।’ 

उनले थपे,  ‘नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा, मधुसूदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे ।

यो पनि