बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्डलाई सरकार दिनुभन्दा जनतालाई फैसला गर्ने जिम्मा दिन लागेका हौँ : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आरोप लगाएका छन् । पार्टी अध्यक्ष भएर गुटबन्दी गर्ने, आफ्नै पार्टी नेतृत्वको सरकारलाई अवरोध गर्नेजस्ता गैरजिम्मेवार काम प्रचण्डबाट भएकाले पार्टी अहिलेको जटिल मोडमा आइपुगेको उनको भनाइ छ । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘कमरेड प्रचण्डले आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गर्नुभयो, सरकारबारे दुष्प्रचार गर्नुभयो, पार्टीमा गुटबन्दी गर्नुभयो, पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउन आफैँ बाधक हुनुभयो । उहाँको यस्तै गतिविधिका कारण उत्पन्न समस्याको प्रमुख जड हो ।’

ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको फैसला जनताको पक्षमा भएको उनको दाबी  छ । ‘कसैलाई भाग पुगेन भनेर बहुमतको सरकार ढाल्नु जायज हो कि फैसला गर्ने जिम्मा जनतालाई दिनु जायज हो ?’ उनले प्रश्न गरे ।

 

ताजा जनादेश स्वीकार गर्नुपर्छ : सांसद सिलवाल

यस्तै, कार्यक्रममा काठमाडौं–५ ‘क’ प्रदेश सांसद नारायण सिलवालले ताजा जनादेशका लागि निर्वाचनमै जानु उत्तम विकल्प भएकाले सबैले स्वीकार गर्नुपर्ने जिकिर गरे । २०५१ मा मनमोहन अधिकारीको अल्पमतको सरकारले अविश्वास प्रस्ताव गरिसकेपछि संसद् विघटन गरेकाले सो निर्णय अदालतले बदर गरेको उदाहरण दिँदै उनले अहिले भने फरक परिस्थिति रहेको बताए ।

‘२०५१ मा अल्पमतको सरकार थियो, त्यसमा पनि अविश्वास प्रस्ताव पेस भइसकेको थियो, त्यसैले त्यो अवस्थामा अदालतले संसद् विघटन निर्णय बदर गरिदियो, अहिले भने बहुमतको सरकारले गरेको निर्णय अदालतले समेत सदर गर्ने विश्वास छ,’ सिलवालको तर्क थियो । 

वर्तमान सरकारले धेरै विकास निर्माणका काम गरेको जिकिर गर्दै उनले सकारात्मक कामको प्रचार हुन नसकेको गुनासो गरे । राम्रो कामको प्रचार गर्दै चुनावमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिए ।

मदन भण्डारीको सिद्धान्तलाई आत्मसाथ गर्छौ : सांसद  निरौला

यस्तै, काठमाडौं निर्वाचन क्षेत्र ५‘ख’ का प्रदेश सांसद दीपक निरौलाले योग्य कार्यकर्तालाई जिम्मेवारी दिँदै अघि बढ्दै गर्दा पार्टी फुटको अवस्थामा पुगेको भन्दै दुख व्यक्त गरे ।  भूकम्प, नाकाबन्दी र महामारीमा केपी ओलीको नेतृत्वमा भएका कामको उनले प्रशंसा गरे । 

निरौलाले भने, ‘विपत्तिमा पनि विकासका ठूलाठूला आयोजना बढाएर ओलीले जनताको विश्वास जित्नुभएको छ, ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गर्दै पाखा लगाउन खोजे । नसकेपछि पार्टी फुटाउन लागेका छन् ।’

पार्टी विभाजनको सँघारमा जननेता मदन भण्डारी र पार्टी संस्थापक पुष्पलाल र मनमोहनको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै आफूहरू अघि बढ्ने बताए । 

अब नेतृत्वका लागि युवा तयार हुनुपर्छ : केन्द्रीय सदस्य गुरुङ

यस्तै, संविधानसभा सदस्यसमेत रहेकी नेकपा केन्द्रीय सदस्य रत्न गुरुङले पार्टी फुटमा जाँदा आफूहरूलाई जनता कार्यकर्ताको माझमा जाँदा लाज लागेको भन्दै वास्तविकता बुझाउने प्रयासमा लागेको बताइन् । 

चुनावको जनतासँग गरेको बाचाअनुसार आफूहरू अघि बढ्दै गर्दा पार्टी विभाजन चाहनेहरूको कारण जनताको सबै अपेक्षा पूरा गर्न नसकेको उनले स्विकारिन् ।

पार्टीका युवा कार्यकर्तालाई आग्रह गर्दै गुरुङले भनिन्, ‘तपाईँहरू नेताको होइन सिद्धान्त र विचारको पछि लाग्नुहोस् । पार्टीको नेतृत्व युवाको काँधमा पुर्‍याउन हामी लागेका छौँ, नेकपालाई थप मजबुत बनाउँदै अघि बढ्नुहोस्, सरकारले गरेका राम्रा काम जनतालाई बुझाउनूस् । पार्टी फुटाउनेहरुको भण्डाफोर गर्नुहोस् ।’


कस्तो लाग्यो ?

यो पनि