जेठ ०६, २०८१, आइतबार
               

आन्दोलन र प्रदर्शनले कोरोना महामारीको दोस्रो लहर आउन सक्ने विज्ञको चेतावनी

ADVERTISEMENT

कोरोनाभाइरस महामारीको डर यथावत् रहेकै बेला सडक आन्दोलन बढेपछि विज्ञहरुले भने सचेतता अपनाउन आग्रह गरेका छन् ।

आन्दोलन गर्नैपरे सामाजिक दुरी कायम राख्दै अरू सचेतता अपनाउन समेत उनीहरुले आग्रह गरेका छन् । यद्यपि, संक्रमण जोखिमका बिच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । पछिल्लो समय अधिकांश नागरिकले कोरोनालाई हल्का रूपमा लिँदै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अर्को नेता माधवकुमार नेपाल समूहले आन्दोलन थालेका छन् । उता प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससहित विभिन्न दल प्रतिनिधिसभा विघटनविरुद्ध देशभरि प्रदर्शनमा उत्रिएको छ ।

कोरोना महामारीकैबीचमा संसद् विघटन भएपछि राजनीतिक गतिविधि तथा बढ्न थालेको छ । जनस्वास्थ्यविद्ले आन्दोलन तथा प्रदर्शनको भिडभाडमा कोरोना भाइरसको नयाँ प्रकार फैलिन सक्ने खतरा पनि औँल्याउँदै चासो व्यक्त गरेका छन् ।

दोस्रो लहर आउन सक्ने

कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्र्याइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले चेतावनी दिएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्र्याइँ नगर्न विज्ञहरूको आग्रह छ । 

पछिल्लो समय सरकारले कोरोना परीक्षणको दायरा घटाउँदा सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा कम देखिन थालेको छ । जोखिम हुँदा हुँदै पनि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । सवारीमा यात्रुको चाँप बढ्दो छ । सडकमा भिडभाड उत्तिकै छ ।

विभिन्न राजनीतिक दल र पेसागत समूहहरूले दैनिक भौतिक उपस्थितिसहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै भौतिक उपस्थितिसहित विद्यालय कक्षासमेत सञ्चालन गरिएको छ । 

डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताए । उनले भने, ‘कोरोनाबाट जोगिन भौतिक दूरी कायम गरौँ । मास्कको समुचित प्रयोग गरौँ । भिडभाडमा नजाऔँ ।’

 

भिडभाडले जोखिम निम्त्याउने अर्का विज्ञ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनले भने, ‘भिडभाडले जोखिम निम्त्याउने र सङ्क्रमणको सम्भावनालाई बढाइदिएको देखिन्छ । यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने हो । कोरोना भाइरस सर्न भिडभाड र जमघट सहज माध्यम बन्न सक्छ । जमघटमा सङ्क्रमित भएको रहेछ भने धेरै व्यक्तिमा संक्रमण फैलिएका उदाहरण प्रशस्त छन् ।’

डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि सचेत हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘कोरोना जोखिम अझै कायम रहेकाले भिडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना रहन्छ ।’ 

नियन्त्रण र हस्तक्षेप नीति छैन : गृह मन्त्रालय

पछिल्लो समय प्रदर्शन बढेपछि सरकारले पनि भिडभाड कम गर्न आग्रह गरेको छ । तर भिडभाड नियन्त्रणको योजना भने औपचारिक रूपमा बनाएको छैन । 

प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने वा जनधनको क्षति हुने अवस्थामा मात्रै प्रदर्शन र विरोध नियन्त्रण गरिने नेपाल गृह मन्त्रालयको भनाइ छ ।

चक्रबहादुर बुढा, प्रवक्ता, गृहमनत्रालय

‘कोरोनाभाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर राजनीतिक दल तथा समूहले आफ्ना कार्यक्रमको व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास छ, सरकारले नियन्त्रण वा हस्तक्षेप गर्ने नीति लिएको छैन’ गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले भने ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि