काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले अनुशासनको कारवाही गर्न लागेको पत्र निर्वाचन आयोगमा पठाउनुअघि नै ओली पक्षले प्रचण्डलगायतका नेताहरुलाई कारवाही गरिसकेको खुलासा भएको छ ।
बालुवाटार स्रोतका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारवाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी छ ।
सोमबार अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष दुवैले संसदीय दलका समानान्तर बैठक गरिसकेका थिए ।
आज (मंगलबार) पार्टी केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखी एक अर्का पक्षलाई कारवाही गर्ने तयारी रहेको बताइएको छ । नेकपा एकीकरण भएको ३२ महिनापछि औपचारिक रुपमा पार्टी विभाजन हुने अनुमान गरिएको छ ।
बालुवाटार र बबरमहलमा बैठक
ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बोलाएको छ । भने प्रचण्ड पक्षले दिउँसोा १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय समिति बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ थपिने केन्द्रीय सदस्यहरुको सूची तयार भइरहेकाले बिहान ९ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक बस्न ढिला भएको छ । केन्द्रीय कमिटीमा करिब ३०० नयाँ सदस्य थपेर आजै सपथग्रहण गराउन लागिएको स्रोतले जनाएको छ ।
प्रचण्ड पक्षले बबरमहलमा बस्ने बैठकबाट अध्यक्ष ओलीलाई कारवाही गरी खाली हुने रिक्त स्थानमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको बताइएको छ ।