चैत १६, २०८०, शुक्रबार
               

बुद्धिमान तामाङलाई बनायो राप्रपाले आन्दोलनको कमान्डर

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलनमा जान नेता बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ ।

राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले आन्दोलनको नेतृत्वको जिम्मेवारी तामाङलाई सुम्पिएको हो ।

नयाँ बानेश्वरमा भएको भेलामा राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले संघर्ष समितिको नेतृत्वका लागि तामाङको नाम प्रस्ताव गरेकोमा भेलाले त्यसलाई अनुमोदन गरेको थियो ।

राप्रपाले पुस १७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने नेता तामाङले बताए । उनले यो संघर्ष राप्रपाको जीवनका लागि 'गर कि मर' सरह भएको बताए । 

भेलामा राप्रपा अध्यक्ष राणाले अहिले मुलुकमा राष्ट्रपति एउटा दलको नभएर एउटा दलको पनि एउटा गुट विशेषको भएको उल्लेख गर्दै अब मुलुकलाई शाहबंशीय राष्ट्रप्रमुखमा अपरिहार्य रहेको बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दाका लागि राप्रपा सडकमा उत्रिएको उद्घोष गरे ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय मुद्दा र आवश्यकता भएको बताए । तीन अध्यक्षमध्येका एक कमल थापाले विगतका कमीकमजोरीबाट सच्चिँदै एकीकृत भई संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे । 

कार्यक्रममा संघर्ष समितिका अध्यक्ष बुद्धिमान तामाङले बागमती प्रदेशका सबै केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्ष तथा भ्रातृ संगठनका अगुवाहरूलाई समेटेर संघर्ष समितिलाई पूर्णता दिने जानकारी दिए ।

राप्रपाले डेढ वर्षअघि तामाङकै नेतृत्वमा यस्तै संघर्ष समिति गठन गरेको थिए । आन्दोलन गरेपछि सरकारले राप्रपासँग वार्ता पनि गरेको थियो । राप्रपाको राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डामा ओली सरकार वार्तामा बसिसकेको थियो । यसबीचमा कोरोना महामारी र राप्रपा एकताका कारण वार्ता त्यतिकै स्थगित भएको थियो । 

यो पनि