जेठ ०३, २०८१, बिहीबार
               

नेकपा विवाद : बल प्रयोग गरेरै हटाउने ओलीइतर पक्षको तयारी

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

संवैधानिक परिषद‍्सम्बन्धी अध्यादेश आएपछि थप संकटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर पक्ष थप आक्रमक शैलीमा अघि बढेको छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले फिर्ता नलिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष शसक्त रुपमा लागेका छन् । उनीहरुले दैनीकजसो आन्तरिक छलफल तथा भेला गर्दै ओलीलाई दबाब दिएरै गलाउन सकिने रणनीति बनाउँदैछन् । 

प्रचण्ड–नेपाल समूह पछिल्ला दिनमा ओलीसँगको विवाद अब सहमति र सम्झौताबाट मात्रै नमिल्ने बुझाइमा छन् । पूर्वमाओबादीका नेताहरू तथा वरिष्ठ नेता नेपालकै केही नेताहरूका अनुसार गुरुङका अनुसार ओली पक्षसँग सम्झौता गरेर अघि बढ्न सकिँदैन । 
स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ भन्छन् ‘अहिलेको विवाद पद बाँडफाँड वा लेनदेनको होइन । एकता र रुपान्तरणको हो । एकता र रुपान्तरण विरोधी कामसँग सम्झौता गर्न सकिँदैन ।’

पछिल्लो समय ओली पक्ष र प्रचण्ड नेपाल पक्ष दुबैले गुटभेलालाई आक्रामक बनाउँदै लगेका छन् । अहिले भइरहेका गुट भेला पनि ओलीले नै निम्ताएको परिणाम भएको प्रचण्ड–नेपाल पक्षको आरोप छ । ओलीले फायर खोलेपछि आफूहरू बाध्य भएको प्रचण्ड-नेपाल पक्षको आरोप छ । नेताहरु भन्छन् ‘ओली कहिल्यै सुध्रिदैनन् । यसैले बल प्रयोग गर्नुको विकल्प छैन ।’

बल प्रयोग गर्नुको अर्थ पार्टीको जारी स्थायी कमिटि बैठकबाट बहुमतले पार्टी अध्यक्षबाट हटाउने र संसदीय दलबाट समेत दलको नेताबाट हटाएर प्रधानमन्त्रीबाट हटाउने रणनीति रहेको बुझ्न सकिन्छ ।

कार्यकारी अध्यक्ष समेत रहेका प्रचण्डले आफूहरूले ओलीलाई नियन्त्रण गरेरै छाड्ने चेतावनी दिएका छन् । शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा भएको प्रचण्ड–नेपाल समूहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको रणनीति खुलाए । प्रधामन्त्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको र त्यो पुरा गरेरै छाड्ने प्रचण्डको भनाइ थियो ।

उनले भने ‘अध्यक्ष ओलीलाई नियन्त्रण गर्न खोजेका हौँ, उहाँले पार्टीको निर्णय मान्नुभएन, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।

कार्यक्रममा वरिष्ठ नेता नेपाल र झलनाथ खनालले  समेत प्रधानमन्त्री ओली सर्बसत्तावाद शैलीमा अघि बढेकाले नियन्त्रणमा ल्याइने बताए । ‘सबै समस्याको जड नै प्रधानमन्त्री ओली नै हुन्, केही दिनपछि सबै समास्या समाधान हुन्छ’ उनीहरूको भनाइ थियो । केही दिनपछि सबै समस्या समाधान हुने उनीहरूको भनाइको आशय बुहमतबाटै ओलीलाई हटाउने भन्ने बुझिएको बैठकमा सहभागी नेताहरू बताउँछन् ।

बुधवार प्रधानमन्त्रीले सहमति विपरित संवैधानिक परिषदको बैठक बोलाएपछि प्रचण्ड बालुवाटार पुगेका थिए । उनले बालुवाटारमा पुगेर ओलीसँग असन्तुष्टि जनाएका थिए । प्रचण्ड निकट स्रोतका अनुसार ओली-प्रचण्डबीच चर्काचर्की नै भएको थियो । प्रचण्डले सहमति पालना नगरेकाले राम्रो सन्देश नजाने भनेका थिए भने ओलीले तत्काल अध्यादेश फिर्ता नहुने बताएका थिए । 

प्रधानमन्त्री ओली निकटका नेताहर"का अनुसार उनी आफ्नो र राष्ट्रपतिको समेत ‘फेस–सेभिङ’ हुनेगरी सहमति चाहन्छन् । यसकारण उनले अध्यायदेश फिर्ता लिने सहमति गरे पनि कार्यान्वयन गरेका छैनन् । 

नेकपाको विवाद ८ महिनायता जारी छ । भदौ २६ मा भएको सहमतिले अल्पकालीन समाधान गरे पनि विवादको स्थायी समाधान गरेको थिएन । ओली सहमतिबाट पछि हटेपछि उनीइतरका नेताहरू उनी विरुद्ध रणनीति बनाउन लागि परेका थिए । तर सचिवालय र स्थायी कमिटी बैठक बस्दै स्थगित हुदै आएको छ ।

‘कुलिङ’ पिरियड भनिएको यो समयमा ओली समूहका नेताहरू सहमतिका लागि सक्रिय हुने गरेको भए पनि सफलता हात लागेका छैन् । उनीहरूले प्रचण्डलाई सहमति भन्दै अल्झाउने र उनी निकटका नेताहरुलाई विभिन्न प्रलोभनमा आफूतिर तान्ने रणनीति अपनाएका छन् ।

प्रचण्ड–नेपाल गुटलाई धम्काउन ओलीले विभिन्न कदम चाल्दै आएका छन् । उनले बैसाख ९ मा ल्याएको अध्यादेश आफू विरोधी नेतालाई धम्काउनकै लागि फेरि ल्याएका थिए । पार्टी कमिटीका बैठकमा पनि बेला बेला नेताहरूलाई तर्साउन कै लागि ओलीले आफू दुवै पदबाट कुनै पनि हालतमा नछोडन बरु आफ्नाविरुद्ध कदम चालिए महाकदम चाल्ने त्रास देखाइरेका छन् ।

प्रचण्ड ओलीलाई सहमत गराउन लागिपरेका नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उप–नेता सुवास नेम्वाङ आफू जहिल्यै अध्यक्षहरूबीच सहमति गराउन लागि परेको बताउँछन् ।  उनी दुवै पक्षले आफ्ना अडानबाट पछि नहटदा तत्काल विवाद समाधान हुने सम्भावना कम भएको बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि