बैशाख १७, २०८१, सोमबार
               

ओलीलाई तगारो संसदीय सुनुवाइ समिति
अध्यादेश ल्याए पनि, संसदीय सुनूवाई समितिले अस्वीकृत गर्न सक्ने

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चलिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले पार्टीको जारी स्थायी कमिटीमा अध्यादेश फिर्ताको माग उठाएका छन् । प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठले फिर्ताको माग उठाएका छन् । सचिवालयमा अल्पमतमा रहेको ओली बुधवारको बैठकमा सहभागी भएनन् । तर उनी निकट ईश्वर पोखरेल, विष्णु पौडेलले बैठकमा सहभागी भई उनकाे बचाउ गरे । केही समयअघि मात्रै ओली पक्षमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादलले प्रस्ट धारणा राखेका छैनन् । 

सरकारले यसअघि वैशाख ८ मा पनि दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यस बेला विवाद हुँदा तीन दिनमै अध्यादेश फिर्ता भएको थियो ।  यसपटक पनि चर्को विवाद भइरहँदा ओलीले फिर्ता गर्न बाध्य होलान् या विवादको बेवास्ता गर्दै अघि बढ्लान् ? आम चासोको विषय बनेको छ ।

सुनुवाइ समिति तगारो

पार्टीमा वरिष्ठ नेता नेपाल र प्रचण्ड पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससमेत असन्तुष्ट रहेको अध्यादेश ओलीले फिर्ता नलिए पनि उनले आफूले सोचे जसरी अघि बढ्न सक्ने देखिँदैन । यसको लागि उनलाई संसदीय सुनुवाइ विशेष समिति तगारो बनेको छ । सिफारिस राष्ट्रपतिकहाँ जानुअघि संसदीय सुनुवाइ समितिबाट पारित हुनुपर्छ ।

संविधान अनुसार संवैधानिक परिषद्ले सिफारिस मात्रै गर्ने हो । तर अन्तिम रूप दिने सदर वा बदर गर्ने कार्यादेश संसदीय सुनुवाइ विशेष समितिलाई छ । 

संसदीय सुनुवाइ विशेष समितिको वर्तमान संरचनाले अहिले अध्यादेशबाट सिफारिस गर्ने संवैधानिक परिषदबाट भएका निर्णयहरू अनुमोदन हुन मुस्किल देखिन्छ । संसदीय समितिमा बहुमत सदस्यहरूको मतका आधारमा निर्णय हुन्छ । समितिमा गएका कुनै पनि सिफारिसलाई स्वीकृत गर्न त्यहाँका कम्तीमा बहुमत सदस्यको मतैक्यता हुनुपर्छ। 

यस्तो छ संसदीय सुनुवाइ समितिको कार्यादेश

प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइ समिति राखिएको छ । 

यो समितिमा प्रतिनिधिसभाबाट सभामुखले मनोनित गरेका १२ जना र राष्ट्रिय सभा अध्यक्षले मनोनित गरेका ३ जना गरी १५ सदस्य रहने व्यवस्था गरिएको छ । 

माथि उल्लेखित पदमा नियुक्तिका लागि समितिमा उम्मेदवारको नाम प्रस्ताव गरी पठाउने व्यवस्था गरिएको छ । 

समितिमा उम्मेदवारको नाम सिफारिस भएको ४५ दिनभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था छ भने समितिमा निर्णयका लागि ५१ प्रतिशत सदस्य आवश्यक पर्ने र दुई तिहाइबाट अनुमोदन अस्वीकृत भएमा अनुमोदन नहुने व्यवस्था गरिएको छ ।

यदि संसदीय समितिले ४५ दिनसम्म त्यसबारे निर्णय गर्न सकेन वा अस्वीकृत गरिदियो भने सिरिसहरू स्वतः खारेज हुन्छन् ।  यसअघि २०७५ साउनमा प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी पनि दुई वर्षअघि बहुमतबाटै अस्वीकृत भएका थिए ।

ओली पक्षका सांसद २ जना मात्रै

संसदीय सुनुवाइ समितिमा १५ सदस्य भए पनि अहिले एक पद रिक्त छ  । समितिमा नेकपाका आठ, काँग्रेसका चार र जनता समाजवादी (जसपा) पार्टीका दुई सदस्य छन् ।

अहिले विवादित अध्यादेशका आधारमा सिफारिस गरिए पनि नेकपाकै बहुमत सदस्य, काँग्रेस र जसपा मिलेर सिफारिस अस्वीकृत गर्न सक्छन् । किनकि नेकपाका ८ जनामध्ये ओली पक्षका जम्मा २ जना सांसद छन् ।

प्रतिनिधि सभाबाट

१. अमृता थापा (नेकपा)

२. निरूदेवी पाल (नेकपा)

३. पार्वत गुरुङ (नेकपा)

४. पूर्णकुमारी सुवेदी (नेकपा)

५. योगेशकुमार भट्टराई (नेकपा)  अहिले मन्त्रिभएपछि सो ठाउँ रिक्त छ ।

६. शिवकुमार मण्डल केबट (नेकपा)

७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा)

८. ज्ञानेन्द्रबहादुर कार्की (नेका)

९. भीमसेनदास प्रधान (नेका)

१०. पुष्पा भुसाल गौतम (नेका)

११. लक्ष्मणलाल कर्ण ( जसपा)

१२. राजेन्द्रप्रसाद श्रेष्ठ – (जसपा)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा)

२. नन्दा चपाइँ (नेकपा)

३. जितेन्द्र नारायण देव (नेका)

यो समितिको सभापति जसपाका सांसद लक्ष्मणलाल कर्ण छन् । समितिमा रहेका सुमन प्याकुरेल र निरु पाल मात्र प्रधानमन्त्री ओली निकट मानिन्छन् । २ जना बाहेक नेकपाका ६ जना प्रचण्ड–नेपाल पक्षका सांसद छन् । योगेश भट्टराई मन्त्री भएपछि उनको ठाउँ रिक्त छ । १४ जना सदस्य सङ्ख्यामा स्वीकृत हुन बहुमत हुन ८ जना सदस्यको एक ठाउँमा हुनुपर्छ । अझै ६ जना सांसदलाई आफ्नो पक्षमा पार्नुपर्ने ओलीलाई चुनौती छ ।

सरकारले अध्यादेश ल्याएपछि सत्तारुढ दलभित्रै र प्रतिपक्षी दलहरूले त्यसको कडा आलोचना गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने विषयमा उनीहरू एक ठाउँमा छन् । त्यस आधारमा समितिमा संवैधानिक परिषद्ले गरेको सिफारिसका पक्षमा ओलीका दुई सदस्यले मात्रै समर्थन गर्नेछन् । बाँकी ६ जनालाई ओलीले विश्वासमा लिन सक्लान् ? यो चासोको विषय बनेको छ ।


कस्तो लाग्यो ?

यो पनि