जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) अध्यादेश जारी गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । 

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो । यसअघि  २८ गते पनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।  

नेकपा विवादको असर 

सत्तारुढ दल नेकपामा चरम विवाद छ । पार्टीभित्रको विवादको असर संवैधानिक परिषदमा स्पस्ट देखिएको छ ।

विवाद समाधान गर्न गत मंसिर २१ गतेबाट सुरु भएको स्थायी समिति बैठक पुस १ गते बस्दैछ ।

तर उक्त बैठकअघि नै त्योपनि पार्टीका जिम्मेवार नेताहरुसँग छलफल नै नगरी ओलीले परिषद्को बैठक बोलाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि