जेठ ०२, २०८१, बुधबार
               

नेकपा विवाद : एकताभन्दा  ए ! कतातर्फ

ADVERTISEMENT

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एकताको दुई वर्ष पूरा भइसकेको थिएन । ९ वैशाख २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन ल्याएका भन्दै ओलीमाथि खनिए ।

कार्यकर्ताले एकताको दोस्रो वर्षगाठ पनि मनाउन पाएका थिएनन्, सुरु भयो चर्को कलहको । 

नितान्त फरक धारका दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) र नेकपा माओवादी केन्द्रको एकता घोषणा भएको थियो ३ जेठ २०७५ मा । त्यसअघि प्रतिनिधि र प्रदेशसभा चुनावअघि असोज २४ गते एकता घोषणा भइसकेको थियो । ८ महिनापछि ३ जेठ २०७५ मा औपचारिक एकता त भयो, तर सिङ्गो संरचनाको एकता हुन बाँकी थियो । साङ्गठनिक र सैद्धान्तिक दुवै पक्षमा थुप्रै काम बाँकी अझै छन् ।

भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मत भिन्नता छ । त्यसैले पूर्ण एकीकरणका लागि पटकपटक म्याद थपिए । नेताहरू एकता पूर्णतया टुङ्ग्याउन जोडतोडले लागेका पनि देखिए । तर, अवस्था एकता भन्दा ए ! कता ? तर्फ उन्मुख देखिँदै आयो ।

अहिले एमाले र एमाओबादीबीच एकता भएको ३० महिना पुगेको छ । यो समयसम्म आइपुग्दा नेकपा ठ्याक्कै विभाजनको ढोकामै पुगेको विभिन्न गतिविधिले प्रस्ट पारेको  छ। नेकपाको विभाजन अहिले मध्यान्तरमा रहेको विभिन्न गतिविधिले प्रस्ट्याउँछ ।

ओठे भक्ति एकता, कार्यशैली ए ! कता ? 

नेकपाभित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढ्दै गर्दा गुटगत गतिविधि बढेको छ । दुई दिनपछि बस्ने स्थायी कमिटीको बैठकमा बहुमत अल्पमतबाट विवाद विषय टुङ्गो लाग्ने देखिँदै गर्दा शीर्ष तहले जिल्ला तहसम्म आफ्नो पटक बलियो पार्न गतिविधि बढाएका छन् । आन्तरिक विवाद अब गुटगत भेला र प्रशिक्षणहरूमा रूपान्तरित भएको छ ।

स्थायी कमिटी बैठक एक साताका लागि सारिएका बेला अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाले समूह आ–आफ्नो रणनीतिका लागि गुटगत भेलामा लागेका हुन् । स्थायी कमिटी बैठक मङ्सिर २८ गते (आइतबार) बस्दै छ ।

प्रधानमन्त्री ओली पक्ष मदन भण्डारी फाउन्डेसनको कार्यक्रमको नाममा नेता तथा कार्यकर्ता आफ्नो पक्षमा पार्ने लबिङमा छ । उता अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल पक्ष पनि संयुक्त रूपमा गुटगत भेला तथा कार्यक्रममा सक्रिय छ । यद्यपि दुवै गुटका गतिविधि पार्टी फुटाउनउन्मुख भइरहेको भए पनि नेताहरूले भने पार्टी नफुट्ने दाबी गर्न छाडेका छैनन् । अझ उनीहरूले पार्टी एकता बलियो बनाउन कार्यक्रम गरेको बताउँदै आएका छन् ।

गुट भेलामा प्रचण्ड–नेपाल पक्ष आक्रामक

शुक्रबार प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवहरूको भर्चुअल भेला भयो । भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिए । प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गरेका थिए । 

बिहीबार मात्रै प्रचण्ड–माधव समूहले काठमाडौंमा बाग्मती प्रदेश र जिल्लाका पदाधिकारीहरूको भेला गरेको छ । भेलामा नेकपा बाग्मती प्रदेश कमिटीका पदाधिकारीसहित जिल्लाका पदाधिकारीसमेत सहभागी थिए ।

प्रचण्ड नेपाल समूहले केही दिनअगाडि काठमाडौंमै विद्यार्थी नेताहरूको भेलासमेत गरेको थियो । उक्त समूहले अब जिल्ला जिल्लामा पनि भेला गरेर वस्तुस्थितिबारे जानकारी दिने तयारी गरेको छ ।

बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहको छुट्टै भेला भएको थियो । बुधबारको भेलामा प्रचण्ड–माधव समूहविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष ओली र प्रचण्डबीच बुधबारै बालुवाटारमा छलफल भएको थियो ।

यसपछि भयो खुलेआम गुट भेला

वैशाख ९ गते ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा प्रचण्ड–नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन ल्याइएको भनेर पार्टीभित्र आफ्नो पक्षमा माहोल बनाउन सफल बनेको थियो । त्यसबेला ओलीले पनि मदन भण्डारी फाउन्डेसनलाई सक्रिय गराएका थिए । अलग पार्टीकै जस्तो अभ्यास गरेका थिए । यसको उत्कर्ष केही समयपछि कर्णालीमा देखा पर्‍यो । 

२५ असोजमा प्रदेश सभामा अविश्वासको प्रस्ताव आए पनि केन्द्रको दबाबपछि ओलीपक्षका नेता पछि हटेका थिए । ओलीमाथि बालुवाटारमा बसेर गुट बनाएको आरोप लगाउँदै आएको प्रचण्ड नेपाल समूहको पनि अहिले गुटगत क्रियाकलाप ह्वात्तै बढाएका छन् ।

कात्तिक २८ गते प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्तावलाई देशैभर नेता कार्यकर्ताको हातमा पुर्‍याइएको छ । जसलाई ओली पक्षका नेताले पार्टी फुटकै संज्ञा दिएका थिए ।

प्रचण्डमाथि आरोप लगाएका ओलीले फेरि मङ्सिर १३ को सचिवालय बैठकमा पेस गरेको जवाफी प्रस्तावलाई  देशव्यापी बनाएका थिए । प्रचण्ड समूहले मङ्सिर १९ मा राजधानीको थापाथली क्याम्पसमा आफू पक्षीय विद्यार्थी नेताको भेला गराएको थियो भने बिहीबार बाग्मती प्रदेशस्तरीय भेला गरेको थियो। भेलामा प्रचण्ड र नेपालले सम्बोधन गरेका छन् ।

फाउन्डेसनको नाममा ओली पक्ष सक्रिय

ओली समूहका नेता पनि गुटगत गतिविधिमै व्यस्त छन् । मदन भण्डारी फाउन्डेसनलाई हाल देशभर सक्रिय बनाइएको छ। जसमार्फत् ओली समूहका गतिविधि बढ्दै गइरहेको छ । ओली पक्षका नेताहरु कार्यकर्ता तहसम्म प्रचण्ड नेपाल पक्षको विरुद्धमा मोर्चा बनाउँदै छन् ।

पछिल्लो समय मङ्सिर २१ गते (आइतबार) बसेको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिएको छ । २१ गतेको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालयमा पेस गरेका छुट्टाछुट्टै ‘राजनीतिक प्रतिवेदन’ पेस गरिएका थिए । ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्ताव अध्ययनका लागि भन्दै बैठक मङ्सिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि