काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र नै कमजोर बन्दै गएका प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारको सर्वदलीय बैठककमा आक्रामक भूमिका खेल्ने भएको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको केन्द्रीय पदाधिकारी बैठकले विद्यमान संकट निम्त्याउनुमा प्रधानमन्त्री ओलीको मूख्य भूमिका रहेको भन्दै प्रतिपक्षले आक्रामक र आलोचनात्कमक भूमिका खेल्ने निर्णय गरेको पार्टी स्रोतले बतायो ।
प्रधानमन्त्री ओलिसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानको मूल मर्म माथि प्रहार गरेर राजावादी शक्तिका लागि उपयुक्त वातावरण निर्माण गरेको आरोप पनि बैठकमा लगाइएको र यी विषयहरुलाई स्पष्ट रुपमा सर्वदलीय बैठकमा उठाउने निर्णय भएको स्रोतले बनायो।
राष्ट्रपतिका लागि हेलिप्याड निर्माण गर्न झण्डै दुई दशक पुरानो प्रहरी प्रशिक्षण केन्द्र हटाउँदा उत्पन्न विवाददेखि प्रधानमन्त्री माथि लागेका गम्भीर अनियमितता र भष्ट्राचार मामिलामा मौन बस्नुको पछाडि संविधान प्रारम्भिक वर्षमा स्थापित होस भन्ने चाहना राखेको तर त्यसलाई प्रधानमन्त्रीले कमजोरीका रुपमा लिएको, र त्यो गुणको साटो प्रतिपक्षलाई विभाजन गर्न खोजिएको, संसद सत्र अनायास बन्द गरी अध्यादेशबाट राज गर्न खोजेको, आफ्नै पार्टीका वरिष्ठ नेतालाई अपमानित र भौतिक यातना दिएको तथा राष्ट्रपति पदीय मर्यादा विपरित गई दलीय गतिविधिमा संलग्न भएका जस्ता विषयलाई प्रखर रुपमा उठाउन पदाधिकारी बैठकले देउवालाई आग्रह गरेको श्रोतले बतायो ।
श्रोतका अनुसार देउवा निवास बुढानिलकण्ठमा सम्पन्न उक्त बैठकले तत्काल संसद अधिवेशन बोलाउन पनि माग गरेको र त्यसका लागि प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ ।