बैशाख २२, २०८१, शनिबार
               

माइतीघरमा नेविसंघको विरोध प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए ।

नेविसङ्घका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । 

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा भएका थिए ।

प्रहरीसँग भएको झडपमा संविधानसभाका  तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र  महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काँग्रेसले जनाएको छ । 

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । 

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । 

वरिष्ठ नेता पौडेल काँग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । 

यो पनि