काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
गत मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव पेश गरेका थिए । त्यसअघि २८ कात्तिकको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव पेश गरेका थिए ।
प्रधानमन्त्री ओलीइतर पक्षले दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएको छ भने प्रधानमन्त्री ओली पक्षधरले दुवै प्रस्तावलाई थाती राखेर साझा प्रस्ताव बनाउनुपर्ने प्रयास गरेका छन् ।
मंगलबारको बैठकमा छलफल नसकिए बैठक लम्बिने सम्भावना छ । यसअघि आजको बैठक नेकपा मुख्यालय धुम्बाराहीमा बस्ने भनिए पनि ‘सुरक्षा थ्रेट’ भन्दै बालुवाटारमा बसेको हो ।