बैशाख २६, २०८१, बुधबार
               

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स हस्तान्तरण

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाको दुर्गम सहिद भूमि गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा खोलिएको प्रतिष्ठानले काठमाडौंको मालिगाउँस्थित एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रतिष्ठानलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको थियो । 

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री थापाका छोरासमेत रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले एम्बुलेन्सको साँचो स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स खाल्सा छिन्ताङ सहिद भूमि गाउँपालिका वडा नम्बर १ ले सञ्चालन गर्नेछ ।

एम्बुलेन्स हस्तान्तरणपछि तीन वर्षअघि आफूले गरेको बाचा गरेको स्मरण गर्दै पूर्वमन्त्री थापाले सो बचन पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले यसअघि पनि आफ्नो बुबा सूर्यबहादुर तथा आफ्नो पहलमा धनकुटामा चार वटा एम्बुलेन्सको व्यवस्था मिलाएको उल्लेख गरे ।

पूर्वमन्त्री थापाले राजनीतिभन्दा माथि उठेर आफू समाजसेवा र धनकुटाको उन्नति तथा प्रगतिमा क्रियाशील हुने अठोट व्यक्त गरे । 

सोही कार्यक्रममा दुर्गम बस्तीमा इन्टरनेट पहुँच विस्तारका लागि सोही ठाउँमा रहेको सहिद प्रकाश थापा स्मृति ट्रस्टलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले यसअघि कोभिड १९ नियन्त्रणसँग सम्बन्धित करिब १० लाख रुपैयाँको सहयोग धनकुटाको स्वास्थ्य संस्थाहरूलाई गरेको थियो । त्यस्तै लकडाउनको समयमा काठमाडौंमा रही खानपिनको समेत अभाव झेलेका करिब नौ सय परिवारलाई प्रतिष्ठानले खाद्य सामग्री वितरण गरेको थियो । 

प्रतिष्ठानले धनकुटाको रामप्रसाद पोखरेल आँखा अस्पताललाई हिमालयन बैंकको सहयोगमा ३० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गर्न लागेको जानकारी पनि पूर्वमन्त्री थापाले गराए ।

एम्बुलेन्स ग्रहण गर्दै सहिद भूमि गाउँपालिका १ का वडाध्यक्ष अशोक राईले दुर्गममा समयमै स्वास्थ्य उपचार नपाउने अवस्थाको अन्त्य गर्न र धरै मानिसको अकालमा हुने मृत्यु रोक्न एम्बुलेन्सले निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

गैरसरकारी संस्था सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रधानले धनकुटाको समुन्नतिका लागि उद्यम र स्वरोजगारको क्षेत्रमा ध्यान केन्द्रित गर्नु पर्ने बताए । उनले प्रतिष्ठानबाट धनकुटाका लागि निरन्तर सामाजिक सहयोग भइरहेको भन्दै खुसी व्यक्त गरे । 

कार्यक्रम सञ्चालक मदन घिमिरेले प्रतिष्ठानले धनकुटा र त्यहाँका बासिन्दाका लागि सदैव सहयोग पुर्‍याउने जनाए भने प्रेस युनियन धनकुटाको अध्यक्ष हिमा चेम्जोङले सामाजिक काममा प्रतिष्ठानको सहयोगको प्रशंसा गर्दै अब उद्योग कलकारखाना र रोजगारी प्रवर्द्धनमा हातेमालो गर्नुपर्ने धारणा राखेकी थिइन् ।

यो पनि