बैशाख २५, २०८१, मंगलबार
               

नेपाल-भारत द्विपक्षीय वार्ता सकियो, परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार पुगे श्रृंगला

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको छ ।

द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए ।

होटेल याक एन्ड यतिमा भएको सो द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका छन् ।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफल अत्यन्त सकारात्मक भएकाे बताए । "छलफलकाे राम्राे सुरुआत भएकाे छ," उनले भने, "दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएकाे छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छाैं ।"

सचिवस्तरीय बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए ।

सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि भारतीय सचिव श्रृंगला आजै काठमाडौँ आएका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौडेल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि