काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएको छ । पछिल्लो समय पार्टी एकता नै संकटमा पुगेको चर्चा चल्न थालेको छ ।
यसैबीच, पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार दिउँसो भएको भेटवार्ताका क्रममा नेम्बाङले पार्टी एकता बचाउन र गुटबन्दी अन्त्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।
नेम्बाङको प्रस्तावमा अध्यक्ष दाहाल सकारात्मक देखिएका छन् । दाहाललाई उदृत गर्दै नेम्बाङले भने, ‘पार्टी एकताप्रति म पनि प्रष्ट र प्रतिबद्ध छु, सचिवालयमा पेश भएको प्रतिवेदनले डोरी चुँडीएको छैन ।’
सबैले पहल र प्रयास गरे पार्टीलाई एकताबद्ध बनाउन सकिने प्रचण्डको भनाइ थियो ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्नुअघि नेम्बाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।
संवादका क्रममा ओलीले पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि जान आफू तयार रहेको बताएका थिए ।